आन्तरिक राजश्व कार्यालय इटहरीले २ अर्ब १३ करोड रुपैयाँ राजश्व असुली गर्‍यो 

  • चिरफार डटकम, विराटनगर ४८७  पटक हेरिएको

मंगलबार, माघ ०२, २०८० समय : १३:५७:०७ , १० महिना अगाडि

आन्तरिक राजश्व कार्यालय इटहरी, सुनसरीले आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा लक्ष्यको तुलनामा ८५ प्रतिशतले राजश्व असुली गरेको छ । आयकर तर्फ कार्यालयले ९९ प्रतिशतले राजश्व असुली गर्न सफल भएका छन् । तर मूल्य अभिवृद्धि कर र अन्तशुल्क कर तर्फ लक्ष्य अनुसारको राजश्व असुली नहुँदा समग्र राजश्व असुलीको प्रतिशत दर घटेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत अर्जुन न्यौपानेले आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुससम्म २ अर्ब ५१ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा २ अर्ब १३ करोड रुपैयाँ राजश्व असुली भएको बताए । जुन लक्ष्यको तुलनामा ८५ प्रतिशतले राजश्व असुली हो । कार्यालयले आयकर तर्फ ६५ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ६४ करोड ४४ लाख रुपैयाँ राजश्व असुली गरेका छन् । जुन लक्ष्यको तुलनामा ९९ प्रतिशतले राजश्व असुली हो ।

कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ७३ करोड ३७ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ५५ करोड ५ लाख रुपैयाँ राजश्व असुली गरेका छन् । जुन लक्ष्यको तुलनामा ७५ प्रतिशतले राजश्व असुली हो । कार्यालयले अन्तशुल्क कर तर्फ १ अर्ब ८ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ९० करोड ८६ लाख रुपैयाँ राजश्व असुली गरेका छन् । जुन लक्ष्यको तुलनामा ८४ प्रतिशतले राजश्व असुली हो ।

कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ५ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएको छ ।