काठमाडौंका महिला वेश्यावृत्ति गर्न भारतको जोगबनीसम्म पुग्ने गरेको रहस्य बाहिरियो

  • ब्रह्मदेव यादव, विराटनगर ८१९  पटक हेरिएको

आइतबार, पुष २९, २०८० समय : १६:२५:०७ , ११ महिना अगाडि

काठमाडौंका महिला वेश्यावृत्ति गर्न भारतको जोगबनीसम्म पुग्ने गरेको रहस्य बाहिरिएको छ । काठमाडौंका महिला पैसाका लागि वेश्यावृत्ति गर्न पूर्वी नेपालको व्यापारिक शहर विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको भारतीय बजार जोगबनी पुग्ने गरेको र महिलासँग अनैतिक सम्बन्ध कायम गर्ने गरेका व्यवसायीले लुकिछिपी तयार पारेको अश्लिल भिडियो मार्फत ब्ल्याकमेलिङ गरेर रकम असुली गर्ने तयारी गरेपछि बन्द कोठाभित्र आपसी सहमतिमा हुने गरेको वेश्यावृत्तिको रहस्य बाहिरिएको हो ।

सुरुमा व्यवसायीले महिलालाई जोगबनी बजारमा लत्ताकपडा देखि खाद्यान्न सामग्री उपहार दिएर विराटनगरका होटल तथा लजमा मोजमस्ती गर्ने र मोजमस्ती गर्दा अवस्थाको अश्लिल भिडियो बनाएर पछि उल्टै माग गरे बमोजिमको रकम नदिए भिडियो सार्वजनिक गरी दिने डर धम्की देखाउने गिरोहका एक जना व्यवसायीलाई जिल्ला परिसर काठमाडौंको टोलीले पक्राउ गरेका छन् ।

पीडित महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीको आदेश लिएर विराटनगरबाट जोगबनीका व्यवसायीलाई पक्राउ गरेर काठमाडौं पुर्‍याएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जिल्ला प्रहरी कार्यालय मोरङ सँग सहकार्य गरेर पीडित महिलाकै सहयोगमा जोगबनीका व्यवसायीलाई विराटनगरको होटलमा मोजमस्ती गर्न बोलाएर शुक्रबार पक्राउ गराउन सफल भएका छन् । जोगबनीका रविकुमार यौन दुराचारको आरोपमा पक्राउ परेका छन् ।

उच्छश्रृंखल यौन क्रियाकलाप र अश्लिल भिडियो निर्माण कार्यमा संलग्न समूहका अन्य व्यवसायी फरार भएका छन् । र प्रहरीले उनीहरूको खोजी जारी राखेका छन् । काठमाडौंका महिला जोगबनीसम्म पुगेर वेश्यावृत्ति गर्ने गराउने गरेको रहस्यमय घटनाको अनुसन्धान गरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका रविकुमारले मात्रै १५ भन्दा बढि महिलासँग अवैध यौन सम्बन्ध कायम गर्दै अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गर्दै रकम असुली गरेको तथ्य बाहिरिएको छ । समूहमा संलग्न अन्य व्यवसायीको बारेमा अनुसन्धान जारी रहेकोले घटनाको सत्यतथ्य पछि सार्वजनिक गर्ने ति अधिकृतले बताए ।

जोगबनीका व्यवसायीले अनलाइन प्रविधिको प्रयोग गरेर काठमाडौंका महिलासँग सम्बन्ध बनाउने र उनीहरूलाई आर्थिक प्रलोभन देखाएर जोगबनी बजारसम्म पुर्‍याएर आकर्षक किनमेल गराउँदै विराटनगरका होटल तथा लजमा मोजमस्ती गर्ने गरेका थिए । जुन कार्यमा महिला र जोगबनीका व्यवसायी पुरुषको एउटा समूह नै संलग्न रहेको रहस्य बाहिरिएको छ । यो घटनाको रहस्य बाहिरिए सँगै विराटनगरका होटल तथा लजमा खुलेआम वेश्यावृत्ति हुनुका साथै अवैध यौन क्रियाकलापको अश्लिल भिडियो निर्माण हुने गरेको तथ्य पनि बाहिरिएको छ ।