- ब्रह्मदेव यादव, विराटनगर ८४७ पटक हेरिएको
शुक्रबार, पुष २७, २०८० समय : १७:००:०६ , ११ महिना अगाडि
मानव सेवा आश्रमले विराटनगरमा आमा सेमिनारको आयोजना गर्दैछ । शनिबार दिउँसो २ देखि ४ बजेसम्म विराटनगर–८ हाटखोला स्थित गुरुकुल नाटक घरमा आमा सेमिनारको आयोजना हुँन लागेको हो । मानव सेवा आश्रमले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आमा सेमिनार बारे जानकारी गराएको हो । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथि रहेको आमा सेमिनारमा ४ सय भन्दा बढि समाजका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।
मानव सेवा आश्रमका अभिभावक लायन लिला ढुंगेल, अभिभावक दिनेश श्रेष्ठ, लायन रेवतबहादुर कार्की, विकास अधिकारी, उद्योगी एवं वरिष्ठ समाजसेवी देवकीनन्दन अग्रवाल, विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरी, वडा नं. १० का पूर्व वडाध्यक्ष तथा आश्रमका अभिभावक माधवराज वाग्ले, मानव सेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिम्सिना, उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष तारा आचार्य पत्रकार सम्मेलनमा विशिष्ट व्यक्तिको रुपमा सहभागि भएका थिए । आमा सेमिनारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तर सेमिनारमा जथाभावी प्रवेश रोक्न आयोजकले विशेष प्रवेश पासको व्यवस्था मिलाएको छ ।
विराटनगरमा मानव सेवा आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भई रहेको छ । आमा सेमिनारमा सहभागि दाताले भवन निर्माणका लागि सहयोग गर्न चाहेमा त्यसलाई सहज रुपमा स्वीकार गर्ने मानव सेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिम्सिनाले बताए । विराटनगरमा सडक पेटिमा जीवन बिताई रहेका आमा बाबु दिदी बहिनीलाई सुरक्षित वासस्थानका लागि २०७६ सालमा मानव सेवा आश्रमले विराटनगरमा सेवा आश्रम सञ्चालनमा ल्याएका छन् ।
विराटनगर महानगरपालिकाको वडा नं. १० तीनटोलिया र वडा नं. ३ को जिल्ला वन कार्यालय नजिक २ बेग्ला बेग्लै भवन सञ्चालनमा रहेका छन् । विराटनगर–१० तीनटोलियामा रहेको आश्रमको भवनमा महिला र बालबालिकालाई बसोवासको व्यवस्था मिलाइएको छ । विराटनगर ३ मा रहेको आश्रममा जेष्ठ नागरिकको लागि बसोवासको व्यवस्था मिलाइएको छ ।
मानव सेवा आश्रमको दुवै भवन भाडाको घरमा सञ्चालन भई रहेकोले आश्रमले विराटनगर–५ स्थित डिपिएस बोडिङ स्कुल नजिक आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरी रहेका छन् । पत्रकार सम्मेलनमा भवन निर्माण समितिका अध्यक्ष प्रविण खड्काको उपस्थिति रहेको थियो ।