- ब्रह्मदेव यादव, विराटनगर ७३१ पटक हेरिएको
मंगलबार, पुष १७, २०८० समय : १३:३३:३४ , ११ महिना अगाडि
विराटनगरलाई हरियाली र सुन्दर शहर बनाउने निजी क्षेत्र नेपाल उद्योग परिसंघ (सी.एन.आई.) ले अभियान सञ्चालन गरेका छन् । यस अभियानमा सहभागिता जनाउन अन्य निजी क्षेत्रलाई सी.एन.आई. ले आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशको निवर्तमान अध्यक्ष भीम घिमिरेले धरान विराटनगर सडक खण्डको बरगाछीदेखि ३०० फिट दक्षिण तर्फ सडक खण्डको बिच भागमा रहेको डिभाइजरलाई हरियाली फूलबारीको रुपमा परिणत गरेका छन् ।
भीम घिमिरे नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्ष रहेकै बेला बरगाछीदेखि दक्षिण तर्फ सडकको बिच भागको डिभाइजर भित्र रहेको चट्टान जस्तो घासलाई तिन पटकसम्म सफा गरेर गोडमेल पछि ५० प्रकारको बिरुवा रोपेका छन् । सी.एन.आई. ले सडकको बिच भागमा वृक्षारोपण गरेको फूलबारीको हेरचाहका लागि दुवै तर्फबाट तारजाली लगाएका छन् । वृक्षारोपण गरिएको बिरुवा जानवरले नखाउन र सर्वसाधारण रोड वारपार गर्दा फूलबारीको बाटो नहिँड्न भन्ने उद्देश्यका साथ सी.एन.आई. ले तार जाली लगाइएको जानकारी गराएका छन् ।
नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष एवं उद्योगी भीम घिमिरेले विराटनगरको बरगाछीदेखि रोडशेष चोकसम्मको सडकको बिच भागमा रहेको डिभाइजर भित्र हरियाली र सुन्दर शहरका लागि वृक्षारोपण अभियान आवश्यक रहेकोले आफ्नो नेतृत्वमा बरगाछीदेखि ३०० फिट दक्षिण तर्फको डिभाइजरमा वृक्षारोपण गरिएको बताए ।
यसरी वृक्षारोपण गरिएको बगैँचामा सी.एन.आई. कोशी प्रदेश समितिले प्रत्येक दिन ३ पटकसम्म पानी पटाउने काम गरी रहेका छन् । वृक्षारोपण गर्नु अघि सी.एन.आई. ले ६ लेन सडक परियोजना र विराटनगर महानगरपालिका सहित वडा नं. २ र ५ का वडाध्यक्ष सँग समन्वय गरेका थिए । वडा नं. २ का वडाध्यक्ष कुमार पोखरेल र ५ नं. वडाध्यक्ष सन्तोष न्यौपानेले डिभाइजर भित्र वृक्षारोपण गर्दा विराटनगर हरियाली र सुन्दर शहर बन्ने र त्यसका लागि सी.एन.आई. ले सञ्चालन गरेको अभियान राम्रो रहेको भन्दै वृक्षारोपण गर्न सुझाव दिएका थिए ।