निर्मल दुगड जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरको अध्यक्ष पदमा निर्वाचित

  • ब्रह्मदेव यादव, विराटनगर १२९७  पटक हेरिएको

सोमबार, पुष १६, २०८० समय : १२:३६:०८ , ११ महिना अगाडि

विराटनगर स्थित जैन श्वेताम्बर तेरापंथी सभाको अध्यक्ष पदमा निर्मलकुमार दुगड निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको र एक जनाले उम्मेदवारी फिर्ता लिएपछि दुगड र्निविरोध अध्यक्ष पदमा निर्वाचित भएको हो । अध्यक्ष पदका लागि निर्मलकुमार दुगड र विजय लुनियाँको उम्मेदवारी परेको थियो । सोमबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिएको थियो ।

निर्वाचन अघि नै लुनियाँले उम्मेदवारी फिर्ता लिएपछि दुगड र्निविरोध अध्यक्ष पदमा निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष निर्मलकुमार दुगडले सोमबार नै निर्मल लालवानीलाई बरिष्ठ उपाध्यक्ष र तरुण संचेतीलाई महासचिव पदमा मनोनयन गरेका छन् । जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरमा निर्वाचित अध्यक्षले २१ सदस्यीय कार्यसमिति गठन गर्ने विधानले व्यवस्था गरेको छ ।

नवनिर्वाचित अध्यक्ष दुगडले विधानले प्रत्यायोजन गरेको अधिकार बमोजिम लालवानीसंचेतीलाई बरिष्ठ उपाध्यक्ष र महासचिव पदमा मनोनयन गरेको हो । नवनिर्वाचित अध्यक्ष दुगडले १/२ दिन भित्रमा नै कार्यसमितिलाई पूर्णता दिने बताएका छन् । जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरको २०७० को विधान अनुसार सतिशकुमार दुगडले २०७७ चैत्र ७ गतेदेखि अध्यक्ष पदको कार्यभार सम्हालेका थिए ।

विधान बमोजिम २०८० असोज ७ गते अध्यक्ष दुगडको कार्यकाल सकिएको छ । जैन श्वेताम्बर तेरापंथी सभाको न्यास मण्डलले विभिन्न पत्रपत्रिकामा सूचना प्रकाशित गरेर चुनाव गराउने विधानको नियम १३ “क” अनुसार न्यास मण्डलको जिम्मेवारी रहेकोमा न्यास मण्डलले पुरुषोत्तमकुमार कर्ण, सुनिलकुमार कर्ण र गणपत नौलखाको ३ सदस्यीय निर्वाचन समिति गठन गरेर चुनावको मिति तय गरेका थिए ।