मोरङ व्यापार संघको एक्स्पो अवलोकन गर्न तछाड मछाड 

  • ब्रह्मदेव यादव, विराटनगर ४३७  पटक हेरिएको

आइतबार, पुष १५, २०८० समय : १३:५४:२० , ११ महिना अगाडि

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको मोरङ व्यापार संघ एक्स्पोको समय अवधि सकिन अब २ दिन मात्र बाँकी छ । पुस ६ गतेदेखि सुरु भएको एक्स्पो १६ गते सोमबार समापन हुँदैछ । संघीय सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार एक्स्पोको समापन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस ६ गते शुक्रबार एक्स्पोको उद्घाटन गरेका थिए । एक्स्पोको समय अवधि सकिन २ दिन मात्र बाँकी रहेकाबेला उपभोक्ता एवं अवलोकन कर्ताको भिड बढ्न थालेका छन् ।

विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा चलिरहेको एक्स्पोमा उपभोक्ता एवं अवलोकन कर्ताको भिड देखेर एक्स्पो आयोजक मोरङ व्यापार संघ उत्साहित भएका छन् । संघका अध्यक्ष नविन रिजालले. शनिबार एकैदिन २० हजारभन्दा बढि दर्शक एवं उपभोक्ताले एक्स्पोको अवलोकन गरेको जानकारी गराए ।

आइतबार गुरुङ समुदायको तमु ल्होसार पर्वको अवसरमा सरकारी बिदा र सोमबार नयाँ वर्ष सन् २०२४ को शुभारम्भ हुन गई रहेकोले एक्स्पो अवलोकन गर्न उपभोक्ता एवं अवलोकन कर्ताले तछाड मछाड गर्न थालेका छन् ।

अन्तिम समयमा एक्स्पो अवलोकन गर्ने उपभोक्ता एवं अवलोकन कर्ताको भिड बढ्न थालेका छन् । उपभोक्ता एवं अवलोकन कर्ताको भिडलाई नियन्त्रण गर्न मोरङ व्यापार संघलाई ठुलो चुनौतीको सामना गर्नु परिरहेको छ । विराटनगरमा जहिले पनि यस्ता प्रकारको मेलामहोत्सव तथा एक्स्पो अवलोकन गर्न उपभोक्ता एवं अवलोकन कर्ताको जमात बाक्लै हुने गरेको छ ।