- ब्रह्मदेव यादव, विराटनगर ५५३ पटक हेरिएको
बुधबार, पुष ११, २०८० समय : १५:४८:१४ , ११ महिना अगाडि
मोरङ व्यापार संघले विराटनगरमा सञ्चालन गरी रहेको मोरङ व्यापार संघ एक्स्पो घुम्न आउने दर्शक तथा उपभोक्ताका लागि घोडा चढ्ने व्यवस्था गरिएको छ । मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको मोरङ व्यापार संघ एक्स्पो २०२३ मा मंगलबारदेखि दर्शक तथा उपभोक्ताका लागि घोडा चढ्ने व्यवस्था गरेको हो । मोरङ व्यापार संघका उपाध्यक्ष तथा एक्स्पो संयोजक अनिल साहले भनेः घोडामा चढेर फोटो खिचाउने अनि केही बेर मनोरञ्जनका लागि घुम्ने दर्शक तथा उपभोक्ताको जमात बाक्लै छ ।
यस अघि घोडा सवारका लागि पूर्वी नेपालको रमणीय पर्यटकीय स्थल इलामको कन्याम पुग्नु पर्ने बाध्यता थियो । मोरङ व्यापार संघले पुस ६ देखि १६ गतेसम्म विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा मोरङ व्यापार संघ एक्स्पोको आयोजना गरेको छ । जुन एक्स्पोलाई भव्य एवं ऐतिहासिक रुपमा सम्पन्न गर्नका लागि इलाम जिल्लाको सूर्योदय नगरपालिकाको कन्यामबाट दुई वटा तालिम प्राप्त घोडा ल्याएर घोडा सवारको व्यवस्था गरिएको हो ।
मोरङ व्यापार संघ एक्स्पो भित्र दुई वटा घोडा राखिएको छ । घोडामा चढेर फोटो खिचाए वापत ५० रुपैयाँ, घोडामा चढेर एक्स्पो स्थलको आधार भागको अवलोकन गरे वापत २०० रुपैयाँ र घोडामा चढेर एक्स्पो स्थलको पुरै भागको अवलोकन गरे वापत ३०० रुपैयाँ तिर्नुपर्ने आयोजकले रकम तोकेको छ । घोडामा एक पटकमा एक जना ठुलो र एक जना सानो गरी दुई जनासम्म चढ्न सक्ने छन् ।
एक्स्पो स्थलको चारै तर्फको बाहिरी भागबाट घोडा चढेर एक्स्पो स्थलको अवलोकन गर्न सकिने छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले इलाम घोडा संघका अध्यक्ष प्रेमलाल तामाङ सँग सहकार्य गरेर एक्स्पो स्थलमा दुई वटा घोडा ल्याएको हो । एक्स्पो स्थलमा इलामको कन्यामबाट ल्याएको एक थान चरेसा जातको घोडाको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्छ ।