ओलीलाई स्वागत गरेको फूलमालाले एउटा पहाड बन्न सक्थ्यो– पोखरेल

  • ब्रह्मदेव यादव, विराटनगर ४०१  पटक हेरिएको

मंगलबार, पुष ०३, २०८० समय : १३:३७:४० , ११ महिना अगाडि

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाटी अध्यक्ष के.पी. शर्मा ओलीलाई मध्यपहाडी लोकमार्ग पदयात्राको दौरान जनताले स्वागत गरेको फुल मालाले एउटा पहाड बन्न सक्ने धारणा व्यक्त गरेका छन् । नेकपा एमालेले २०८० साल मंसिर १४ गते महाकाली अञ्चलबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग पदयात्रा पुस १ गते मेची अञ्चल पुगेर सकिएको छ ।

एमाले महासचिव पोखरेलले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर पाटी अध्यक्ष ओलीलाई जनताले अहिलेसम्मको सबै भन्दा उच्च सम्मान गरेको र सम्मान गरिएको फूलमालालाई जम्मा गरेर राखेको भए एउटा पहाड निर्माण हुन सक्ने विचार व्यक्त गरेका छन् । जनता एमालेसँग कति जोडिएको छ भने कुरा फूलमालाले प्रमाणित गरेको महासचिव पोखरेलको भनाई छ ।

एमालेले मध्यपहाडी क्षेत्रमा बसोवास गरी रहेका जनताको जीविकोपार्जन, आयश्रोत सँगै सडक मार्गको अवस्था बुझ्न र त्यसलाई समाधान गर्ने गरी पदयात्रा कार्यक्रम आयोजना गरेको भए पनि पदयात्रा कार्यक्रम एमालेको मात्रै नभएर सर्वदलीय कार्यक्रममा परिणत भएको महासचिव पोखरेलले बताए । मध्यपहाडी क्षेत्रको ३० जिल्लाको ३४ निर्वाचन क्षेत्रलाई समेट्ने गरी एमालेले निकालेको पदयात्रा भव्य रुपमा सम्पन्न भएका छन् ।

मध्यपहाडी जिल्लामा बसोवास गर्ने सबै राजनैतिक दलका पदाधिकारीहरूले बैठक गरेर तयार गरेको समस्या र सुझावलाई ओली समक्ष बुझाइएको पोखरेलको दावी छ । बालबालिकादेखि वृद्धवृद्धाहरुले चिसो मौसममा पनि ओलीलाई भेट्न खोजेर फूलमाला सहित स्थानीय उत्पादनले स्वागत गरेको पोखरेलले बताए ।

पदयात्राको दौरान धनकुटामा ओलीमाथी सामान्य हातपातको घट्ना घटेको भएपनि सञ्चार माध्यमले त्यसलाई ठुलो घटनाको रुपमा परिणत गर्दै मध्य पहाडी पदयात्राको सन्देशलाई ओझेलमा पार्न खोजेको पोखरेलको सञ्चार क्षेत्रमाथि आरोप छ । चाडै नै एमालेले हिमाल, पहाड र तराईलाई जोड्ने गरी  हुलाकी सडक मार्ग निकाल्ने तयारी भई रहेको महासचिव पोखरेलले बताए ।