मोरङ व्यापार संघ एक्स्पोको सबै स्टल बिक्री 

  • ब्रह्मदेव यादव, विराटनगर ६६१  पटक हेरिएको

आइतबार, पुष ०१, २०८० समय : १८:२५:१७ , ११ महिना अगाडि

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गर्न लागेको मोरङ व्यापार संघ एक्स्पो २०८० को सबै स्टल बिक्री भई सकेको छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई) का केन्द्रीय सदस्य एवं मोरङ व्यापार संघका अध्यक्ष उद्योगी नविन रिजालले एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्नका लागि निर्माण गर्न लागिएको २५० वटै स्टलको बिक्री भई सकेको बताए ।

एक्स्पोमा स्टल खरीद गर्न नेपाल सहित भारत, बंगलादेश र पाकिस्तानका उद्योगी तथा व्यापारी घरानाको चाप बढेकोले कति स्टल थप्ने विषयमा संघका पदाधिकारीहरूको बैठक तथा छलफल जारी रहेको अध्यक्ष रिजालले बताए । मोरङ व्यापार संघले संघकै नामबाट आयोजना गर्न लागेको एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २५० स्टल रहने र सोही अनुसार तयारी गरिएको हो ।

मोरङ व्यापार संघले यही पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा मोरङ व्यापार संघ एक्स्पोको आयोजना गर्दैछ । मोरङ व्यापार संघको ३३ औं कार्यकारिणी समितिका लागि नविन रिजाल अध्यक्ष पदमा निर्वाचित भएपछि उनले विराटनगरमा दोस्रो पटक एक्स्पोको आयोजना गर्दैछ । अध्यक्ष रिजालले आफ्नो एउटै कार्यकारिणी समितिमा रहेका २ वटा उपाध्यक्षलाई बेग्लाबेग्लै एक्स्पोको संयोजक बनाएर एक्स्पो आयोजना गर्दैछ ।

अध्यक्ष रिजालले २०७८ सालमा उपाध्यक्ष विकासकुमार बेग्वानीलाई संयोजक बनाएर भव्य रुपमा एक्स्पो सम्पन्न गरी सकेका छन् । २०८० सालमा अर्का उपाध्यक्ष अनिल साहलाई संयोजक बनाएर दोस्रो एक्स्पोको आयोजना गर्न लागेको हो ।