एम.जी. रोड खारेजको माग गर्दै विराटनगरमा आन्दोलन सुरु 

  • ब्रह्मदेव यादव, विराटनगर ९३९  पटक हेरिएको

आइतबार, पुष ०१, २०८० समय : १६:११:११ , ११ महिना अगाडि

एम.जी. रोड खारेजको माग गर्दै विराटनगर महानगरपालिका विरुद्ध आइतबारदेखि विराटनगरका व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन् । एम.जी. रोडको खारेज सँगै पुरानो हिमालय रोड कायम नभएसम्म आन्दोलनलाई निरन्तरता दिने व्यवसायीहरूले उद्घोष गरेका छन् । स्थानीय व्यवसायी गंगाधर (राकेश) मैनालीले एम.जी. रोडका कारण व्यवसायी पलायन हुने अवस्था सृजना भएकोले एक मात्र माग एम.जी. रोड खारेज हुनु पर्ने बताए ।

विराटनगर महानगरपालिकाको वडा नं. ९ स्थित मुख्य व्यापारिक केन्द्र एम.जी. रोडमा ६० भन्दा बढि व्यवसायीक पसल तथा सटर सञ्चालनमा रहेका छन् । स्थानीयवासीले विनोद पौदारको संयोजकमा आन्दोलन संघर्ष समिति गठन गरेका छन् । आन्दोलन संघर्ष समितिका संयोजक पौदारको नेतृत्वमा समितिका पदाधिकारी र स्थानीयवासीले आइतबार १२ बजेदेखि १ बजेसम्म १ घण्टा पसल बन्द गरेर एम.जी. रोड खारेज र पुरानै हिमालय रोड कायम हुने पर्ने माँग गर्दै आन्दोलन सुरु गरेको हो ।

एम.जी. रोड खारेज र हिमालय रोड कायम नभए सम्म आन्दोलनलाई निरन्तरता दिने संघर्ष समितिका संयोजक पौदारले घोषणा गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सांसद रहेका विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीको कार्यकालमा १ करोड भन्दा बढि रकम खर्चेर हिमालय रोडलाई भारत सिक्किमको एम.जी. रोडको अवधारणामा एम.जी. रोड घोषणा गर्दै पर्यटकीय स्थलका लागि चाहिने आवश्यक संरचना निर्माण गरेका छन् । एम.जी. रोडमा निर्माण गरेको संरचना निर्माणकर्ता ठेकेदार संजय यादवले अहिलेसम्म विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेका छैनन् ।

ठेकेदार यादवले अहिलेसम्म निर्माण कार्य पुरा गरेको सम्पूर्ण रकम भुक्तानी पनि पाएका छैनन् । स्थानीयवासी शंकर ओझाले एम.जी. रोडमा निर्माण गरिएका पानीको फोहोरा स्थल मछरको खानी बनेको, बत्ती लाइट बल्न नसकेको र रोपिएको फलफूलको बिरुवा प्रयोग विहीन अवस्थामा रहेकोले नाममात्रको पर्यटकीय स्थलको कुनै काम नरहेको बताए ।

विराटनगर महानगरपालिका सँग अनुमति लिएर विभिन्न संघ संस्थाहरूले चार्ड पर्वको समय एम.जी. रोडमा मेला लगाउने गरेका छन् । यस बाहेक विभिन्न राजनैतिक दलले समय समयमा सभा सम्मेलन गर्दा साउण्ड बक्सको प्रदुषण पसल पसलमा पुग्दा व्यापार व्यवसायी नै चौपट भएकोले एम.जी. रोड खारेज एक मात्र विकल्प रहेको संघर्ष समितिका संयोजक पौदारले बताए । स्थानीयवासीले आइतबार घण्टौँ एम.जी. रोडमा प्रदर्शन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विरुद्ध नारावाजी गरेका छन् ।