- ब्रह्मदेव यादव, विराटनगर ८१० पटक हेरिएको
मंगलबार, मंसिर २६, २०८० समय : १३:३२:४५ , १२ महिना अगाडि
विराटनगर स्थित मेट्रो न्युरो अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर मरेको व्यक्ति जीवित भेटियो भन्ने शीर्षकमा प्रकाशित समाचार प्रति आपत्ती प्रकट गरेका छन् । ३ दिनदेखि अनलाइन र छापा मिडियामा विराटनगरको मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित भेटियो भन्ने शीर्षकमा प्रकाशित समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सोमबार कोशी प्रदेश सभाको बैठकमा बोल्दै एमाले सांसद तिलचन्द पाठक र नेकपा माओवादी केन्द्रका सांसद गीता तिम्सिनाले जीवित व्यक्तिलाई मरेको घोषणा गर्ने विराटनगरको मेट्रो न्युरो अस्पताललाई हदै सम्मको कारवाही गर्न सरकार सँग माग गरेका थिए । राज्यको विभिन्न सरोकारवाला निकायले जीवित व्यक्तिलाई मरेको घोषणा गर्ने मेट्रो न्युरो अस्पतालमाथि कारवाही गर्ने गरी छानविन प्रक्रिया अगाडि बढाउने उद्देश्यका साथ खोजबिन सुरु गरेको छ ।
सञ्चार क्षेत्रदेखि राज्यको विभिन्न सरोकारवाला निकायको घेराबन्दीमा परेपछि मेट्रो न्युरो अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गरेका छन् । अस्पतालले गलत समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमका विरुद्ध न्यायलय जाने चेतावनी दिएका छन् ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार मेहत्ताले सुनसरीको इनरुवा नगरपालिका–३ का प्रताप सदा मंसिर २३ गते शनिबार उपचारका लागि अस्पतालमा भर्ना भएको र मंसिर २४ गते आइतबार उपचार गर्न नसकेर जीवित व्यक्ति घर फर्केको जानकारी गराएको छ । तर सञ्चार माध्यमले विराटनगरको मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको सुनसरी इनरुवाका सदा जीवित भेटियो भन्ने शीर्षकमा समाचार प्रकाशन गरेर अस्पतालको छविलाई बदनाम गर्ने प्रयास गरेका थिए । जुन समाचार प्रति अस्पताल प्रशासनले आपत्ति प्रकट गरेका छन् ।