कोशी र मधेश प्रदेशका ६ जिल्लालाई थरुहठ –कोचिला प्रदेश बनाउन विश्वासको प्रस्ताव

  • ब्रह्मदेव यादव, विराटनगर ६८४  पटक हेरिएको

सोमबार, मंसिर २५, २०८० समय : १७:०२:१२ , १२ महिना अगाडि

समावेशी समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष किशोरकुमार विश्वासले कोशी र मधेश प्रदेशका ६ जिल्लालाई समेटेर थरुहठ – कोचिला प्रदेश बनाउन प्रस्ताव गरेका छन् । सोमबार विराटगनरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष विश्वासले कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लालाई समेटेर थरुहठ – कोचिला प्रदेश बनाउन पार्टीको केन्द्रिय समितिको बैठकले निर्णय गरेको बताए ।

समावेशी समाजवादी पार्टी नेपालको मंसिर २३ र २४ गते गरी २ दिन सम्म विराटनगरमा बैठक चलेको थियो । बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष विश्वासले कोशी प्रदेशका ४ र मधेश प्रदेशका २ गरी ६ जिल्लालाई समेटेर थरुहठ – कोचिला प्रदेश बनाउने अभियान सुरु भइसकेको बताए । थरुहठ – कोचिला प्रदेशको बारेमा कोशी प्रदेशका जनतालाई जानकारी गराउने उद्देश्यका साथ २०८० पुष १४ गते झापाको बिर्तामोड, पुष २१ गते मोरङको विराटनगर, पुष २८ गते सुनसरीको दुहबी र माघ ६ गते उदयपुरको गाईघाटमा भेला तथा अन्र्तक्रिया गर्ने निर्णय भएको अध्यक्ष विश्वासले बताए ।

अध्यक्ष विश्वासले सत्ताघटक ९ दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले नेपालको संविधान २०७२ ले प्रत्यायोजन गरेको संवैधानिक व्यवस्थालाई लागु गर्न उदासिन रहेकोले संघीयता माथि प्रश्न उठेको बताए । मेडिकल व्यवसायी दुर्गा प्रसाईदेखि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयता माथि प्रश्न उठाउनुमा सत्ताघटक र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले जिम्मेवार रहेको अध्यक्ष विश्वासले बताए ।