- ब्रह्मदेव यादव, विराटनगर १०५१ पटक हेरिएको
सोमबार, मंसिर १८, २०८० समय : १७:३३:५४ , १२ महिना अगाडि
राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विराटनगर भन्सार कार्यालयका भन्सार प्रतिनिधि राजकुमार रौनियारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छन् । रौनियारको कपडा आयातको आफ्नै व्यवसायीक फर्म छ । लामो समयदेखि रौनियार विराटनगर भन्सार कार्यालय र कोशी ब्यारेक भन्सार कार्यालयमा भन्सार प्रतिनिधिको रुपमा काम गर्दै सामान आयात गरिरहेका छन् ।
भन्सार प्रतिनिधि रौनियारले बिक्री गरेको मोटो रकमको कपडाको भ्याट बिल नक्कली ठहरिएपछि राजश्व अनुसन्धान विभागको टोलीले शनिबार रौनियारको गोदाममा छापा मार्दै रौनियारलाई नियन्त्रणमा लिएर काठमाडौं पुर्याएको छ । र नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धान थालेका छन् । भन्सार प्रतिनिधि राजकुमार रौनियार र उनका भाइ लक्ष्मण रौनियार लामो समयदेखि भारतबाट चोरी तस्करीको माध्यमबाट कपडा ल्याउँदै नेपालमा बिक्री गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा सन्तोष खड्का एसपी हुँदा राजकुमार रौनियारको विराटनगर–७ स्थित जलजला मोडको गोदाममा छापा मारेर हतियार बरामद गरेका थिए । अर्का भन्सार प्रतिनिधि सञ्जित भगतको गोदाममा राजश्व अनुसन्धान विभागको टोलीले आइतबार छापा मारेको छ । राजश्वको टोलीले आइतबार भगतको विराटनगर–११ स्थित गोदाममा छापामार्दा दिनभर लगाएर गोदाममा रहेको सामानको मुचुल्का तयार गरेर कारोबारको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । भगतको स्वस्तिक ट्रेड एवं सप्लायर्स नामको आफ्नै व्यवसायीक फर्म छ ।
भगतले साउथ एसियन फि ट्रेड एरिया (साफटा) सुविधाको सदुपयोग गरिरहेको छ । भारतबाट नेपालमा कपडा आयात गर्दा सुती साडी सहित सुती कपडामा १५ प्रतिशत भन्सार राजश्व लाग्ने व्यवस्था छ । तर साफटाको सुविधा प्रयोग गर्ने व्यवसायीक फर्मले एलसी खोलेर बैंक ग्यारेन्टी मार्फत नेपालमा कपडा आयात गर्दा ७.२५ प्रतिशत भन्सार राजश्व लाग्ने व्यवस्था छ । भगतले विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कोशी भन्सार कार्यालय र सप्तरी भन्सार कार्यालयबाट साफटा सुविधाको कपडा विराटनगर भित्र्याइ रहेका छन् ।
यस बाहेक भगतले अन्य व्यवसायीक फर्मको कपडा भन्सार प्रतिनिधिको रुपमा आयात गरिरहेका छन् । भगतले कपडा आयात गर्दा विराटनगर भन्सार कार्यालयका भन्सार एजेन्ट दयानन्द मण्डलले भगतको कपडा आयात फर्ममा सही गरी रहेका छन् । भगतले भन्सार एजेन्ट मण्डललाई मासिक रुपमा तलब बुझाउने गरेको भन्सार निकट समाचार सूत्रले जानकारी गराएको छ । भगतले स्वस्तिक ट्रेड एण्ड सप्लायर्स नामको आफ्नै व्यवसायीक फर्मबाट भारतबाट नेपालमा कपडा आयात गरी रहेका छन ।
जसका लागि भन्सार विभागले भगतलाई भन्सार कोड नम्बर दिएको छ । र उनले त्यही कोड नम्बर प्रयोग गरेर साफटा सुविधाको सदुपयोग गर्दै कपडा आयात गरी रहेका छन् । राजश्व अनुसन्धान विभागले भगतको गोदाममा छापा मार्दा भगतले विभिन्न भन्सार नाकाबाट आयात गरेको कपडाको बिल कुन सक्कली कुन नक्कली छुट्याउनै सकेन र त्यसको छानबिनका लागि सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ र अनुसन्धान जारी राखेका छन् ।