- ब्रह्मदेव यादव, विराटनगर ६६७ पटक हेरिएको
शुक्रबार, मंसिर १५, २०८० समय : १५:३९:१८ , १२ महिना अगाडि
मोरङको जहदा गाउँपालिकाले कार्यालयको महत्वपूर्ण कागजात जलाउने पूर्वलेखा अधिकृत प्रतिक भण्डारीलाई कारवाही गर्न लेखापरीक्षणको पर्खाइमा रहेका छन् । केही दिनपछि महालेखा परीक्षकको कार्यालय जहदा गाउँपालिकाको लेखा परिक्षण गर्न टोली पठाउन लागेका हुन् । जहदा गाउँपालिकाका पूर्वलेखा अधिकृत प्रतिक भण्डारीले गत आर्थिक वर्ष २०७९/०८० मा खर्च गरेको रकमको केही कागजात सरकारी बिदाको दिन जलाएका थिए ।
२०८० असोज ३ गते संविधान दिवसको दिन संघीय, प्रदेश र स्थानीय तह गरेर तीन तहकै सरकारले सरकारी बिदा मनाई रहेको दिन जहदा गाउँपालिकाका पुर्वलेखा अधिकृत प्रतिक भण्डारीले कार्यालय खोलेर केही महत्वपूर्ण कागजात जलाएका थिए । आर्थिक वर्ष २०७९/०८० मा अवैध तरिकाले विकास निर्माणदेखि सडक मर्मत सम्भार शीर्षकमा मोटो रकम खर्च गरिएको र त्यसरी खर्च गरिएको रकमको प्रमाण नष्ट गर्न भण्डारीले महत्वपूर्ण कागजात जलाएका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवको दबाबमा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले कार्यालयमै जलाइएको कागजातको मुचुल्का तयार गरेका थिए । तर कागजात जलाइएको तीन महिना भइसक्दा पनि भण्डारीलाई कुनै किसिमको कारवाही गरिएको छैन । र कारवाही गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छैन । जहदा गाउँपालिकामा जलाइएको कागजातको विषयमा पूर्वलेखा अधिकृत भण्डारी, गाउँपालिका अध्यक्ष साह र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवको संलग्नता रहेको आशंका गरिएको छ ।
लेखा अधिकृत भण्डारीको जहदा गाउँपालिकाबाट अन्यत्र सरुवा भई सकेका छन् । गाउँपालिका अध्यक्ष साहले महालेखा परीक्षकको कार्यालयबाट खटिने लेखा परीक्षणले यकिन नगरेसम्म जलाइएको कागजात फेला नपर्ने बताए । महालेखा परीक्षकले लेखा परिक्षण गर्दा गत आर्थिक वर्ष २०७९/०८० मा खर्च भएको शीर्षकको कुन कुन कागजात भेटिँदैन त्यही कागजात जलाइएको प्रमाणलाई आधार बनाएर पुर्वलेखा अधिकृत भण्डारीलाई कारवाही गर्ने बताए ।