- चिरफार डटकम, विराटनगर ६९६ पटक हेरिएको
आइतबार, मंसिर ०३, २०८० समय : १४:२३:२३ , १ वर्ष अगाडि
कोशी प्रदेश सभा सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली छठ पर्वको व्रत बसेर १९औं पटक दण्डप्रणाम गर्दै पुजा स्थल सिंघिया घाट प्रस्थान गरेका छन् । विराटनगर–३ स्थित शिव पाञ्चायन मन्दिरबाट आइतबार बिहान १०ः३० बजे सांसद पराजुली दण्डप्रणाम गर्दै छठ पुजा स्थल सिंघिया घाट तर्फ प्रस्थान गरेका हुन ।
सांसद पराजुलीको घर नजिकै मन्दिरबाट छठ पुजा स्थल सिंघिया घाट करिब ३ किलोमिटरको दूरीमा रहेको छ । दण्डप्रणाम गर्दै सिंघिया घाट पुग्न ५ घण्टा भन्दा बढि समय लाग्छ । अघिल्लो बर्ष पराजुली साढे ५ घण्टा समय लगाएर सिंघिया घाट पुगेका थिए । सांसद पराजुलीलाई उनका आफ्नै भतिज प्रमिस पराजुलीले विगत ७ वर्षदेखि दण्डप्रणाममा साथ दिइरहेका छन् । सांसद पराजुली २०४८ सालदेखि छठ पर्वको उपासना गरिरहेका छन् ।
सांसद पराजुलीले बुवा र दुई दाजुको स्वर्गारोहण हुँदा ३ वर्ष छठ पर्वको उपासना गर्नु भएन । पराजुलीले छठ पर्वको उपासना गरेको २९ वर्ष पुगेको छ । जसमध्ये १९ वर्षदेखि दण्डप्रणाम गर्दै छठ पुजा स्थल सिंघिया घाट पुग्ने गरेको कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको हो । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पराजुलीले नेपाललाई समृद्ध बनाउन सनातन हिन्दु राज्य स्थापनाका लागि दण्डप्रणाम गरेर छठ पुजा स्थल सिंघिया घाट पुग्ने कार्यलाई निरन्तरता दिएको बताए ।