- चिरफार डटकम, विराटनगर ५६८ पटक हेरिएको
बिहिबार, कार्तिक ०२, २०८० समय : १४:२५:१७ , १ वर्ष अगाडि
विराटनगरको प्रतिष्ठित औद्योगिक घराना जाजु परिवारले जनसेवाका लागि पितृको नामबाट चिसो खानेपानी फिल्टरप्लान्ट जडान गरेको छ । एसियन थाइफुड्स प्रा.लि.का संचालक महेश जाजु, वहाँका श्रीमती कमला जाजु, भाइ आनन्द जाजु र वहाँका श्रीमती ललिता जाजुले स्वगिय बुवा आमा रामानन्द जाजु र हरप्यारी देवी जाजुको स्मृतिमा विराटनगर–७ स्थित सरस्वती टोलमा रहेको सरस्वती मन्दिरमा चिसो खानेपानी फिल्टरप्लान्ट जडान गरेको हो ।
जनसेवाका लागि चिसो खानेपानी फिल्टरप्लान्ट जडानका लागि महेश जाजु र उनका भाई आनन्द जाजुले ३ लाख भन्दा बढि रुपैयाँ खर्चेका छन् । सरस्वती मन्दिरको प्राङ्गणमा चिसो खानेपानी फिल्टरप्लान्ट र बाहिरी भागमा धारा जडान गरिएको छ । बाटो हिड्ने जोकोही सर्वसाधारणका लागि सहज र सरल तरिकाले चिसो खानेपानी खानपाइयोस भन्ने उद्देश्यका साथ जाजु परिवारले सामाजिक कार्य गरेको हो ।
माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, विराटनगर–७ का वडाध्यक्ष मधुबाबु तिवारी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थितिमा विहीबार महेश जाजुले पूजापाठ गरेर चिसो खानेपानी फिल्टरप्लान्टको उद्घाटन गरेका छन् । चिसो खानेपानी फिल्टरप्लान्ट उद्घाटन समारोहमा उद्योगी महेश जाजुका छोरा आशिष जाजु र बुहारी जयश्री जाजुको उपस्थिति रहेको थियो ।
जाजु परिवारले विहीबार नै सरस्वती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद भट्ट सहित मन्दिरका पदाधिकारीहरूलाई रेखदेख गर्ने सर्तमा चिसो खानेपानी फिल्टरप्लान्ट हस्तान्तरण गरेका छन् ।