मुख्यमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा जेदेखियो, त्यही लेखियो 

  • ब्रह्मदेव यादव, विराटनगर ५४८  पटक हेरिएको

आइतबार, आश्विन २८, २०८० समय : १७:१२:०९ , १ वर्ष अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । कार्की शनिबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्की सँगै नेपाली कांग्रेसबाट विद्रोह गरेका शमशेर राई र नेकपा एमालेबाट रामबहादुर रानाले विना विभागीय मन्त्रीको रुपमा सपथ ग्रहण लिएका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्की सहित बिनाविभागीय मन्त्री राई र रानालाई सपथ ग्रहण गराए ।

विना विभागीय मन्त्री नियुक्त भएका राई र राना दुवै इलामका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री भएका कार्कीले कांग्रेसबाट विद्रोह गरेका शमशेर राई र एमालेबाट रामबहादुर राना र झापाका एकराज कार्कीलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए । प्रदेश प्रमुख कार्यालयको सचिवालयले पनि सपथ ग्रहण समारोहमा ३ मन्त्रीका लागि ३ वटा कुर्सी र ३ वटा माइक तयारी अवस्थामा राखेका थिए । तर पछि सपथ ग्रहण समारोह हलमा राखिएको १/१ वटा कुर्सी र माइक हटाएका थिए ।

कांग्रेसबाट विद्रोह गरेकी धनकुटाकी समानुपातिक सांसद इन्दिरा थापा मन्त्री बन्न इच्छुक थिए । एमालेबाट दुई जना र कांग्रेसबाट विद्रोह गरेका ८ मध्ये १ जनालाई मात्रै मन्त्री बनाउँदा असनतुष्टी बाहिर जाने भएकोले १/१ जनालाई मात्र आइतबार मन्त्री बनाइएको हो । सत्ताघटक नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री कार्कीको सपथ ग्रहण समारोहलाई बहिष्कार गरेका थिए । पूर्व मुख्यमन्त्रीको हैसियतमा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा सपथ ग्रहण समारोहमा सहभागि थिए ।

डा. शेखर कोइराला निकट कांग्रेसका नेता तथा कार्यकर्ताहरू सपथ ग्रहण समारोहमा सहभागिता जनाउँदै उत्साहित देखिन्थे । डा. कोइराला निकट कांग्रेस मोरङका उपसभापति तथा कार्यवाहक सभापति भक्तिनाथ माझी, सचिव ललित श्रेष्ठ, सहसचिव संजय मण्डल, कांग्रेस विराटनगर महानगर समिति सभापति दिपक चापागाईं, विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपाने, ७ का वडाध्यक्ष मधुबाबु तिवारी, बुढीगंगा गाउँपालिकाका मेयर जितनारायण थापा, कांग्रेसका युवा नेता कृष्ण कार्की, रंजित झा, पंकज बर्मा, ५ का वडा सदस्य अन्र्जु दाहाल सपथ ग्रहण समारोहमा देखिए ।