- ब्रह्मदेव यादव, विराटनगर ९२६ पटक हेरिएको
मंगलबार, आश्विन २३, २०८० समय : १७:३६:२९ , १ वर्ष अगाडि
जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरको शनिबार सम्पन्न साधारण सभाले न्यास मण्डल रहने व्यवस्था खारेज गरेको छ । सभा भित्र सभाका पदाधिकारी ठुलो कि न्यास मण्डलका पदाधिकारी ठुलो भन्ने विषयमा लामो समयदेखि विवादको विषय बनेको थियो । अब तेरापंथी सभा विराटनगरमा २ अध्यक्ष रहने व्यवस्था स्वतः खारेज भएको छ । जैन श्वेताम्बर तेरापंथी सभाका अध्यक्ष र सभा अन्तर्गतको न्यास मण्डलको अध्यक्ष रहने व्यवस्था थियो ।
सभाको सम्पत्तिको सर्वाधिकार न्यास मण्डलमा केन्द्रित रहेको थियो । सभाले जैन धर्मावलम्बीहरूको हकहित, संरक्षण र सम्वर्द्धनका लागि काम गर्दा न्यास मण्डलका पदाधिकारी सँग खर्च रकम उपलब्ध गराई दिन हार गुहार लगाउनु पर्ने बाध्यात्मक व्यवस्था थियो । सभाका पदाधिकारीहरूलाई भौतिक संरचना निर्माण देखि जैन धर्मावलम्बीहरूको हक हित संरक्षण एवं सम्वर्द्धनलागि गरिने खर्च रकमको अधिकार समेत प्रत्यायोजन गरेको छ ।
सभाको संसोधन नयाँ विधानले न्यास मण्डलका लागि सदस्य निर्वाचित हुने व्यवस्था कायमै राखेको छ । तर यसरी निर्वाचित हुने सदस्यहरू सभाका अध्यक्षको मातहत रहने गरी विधान संसोधन भएको छ । जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगडको अध्यक्षतामा भएको साधारण सभामा न्यास मण्डलका अध्यक्ष सुरेश नौलखा उपस्थित भएनन् ।
उपाध्यक्ष राजकुमार गोल्छाले न्यास मण्डलको तर्फबाट साधारण सभामा प्रतिनिधित्व गरेका थिए । जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका महासचिव सुरेन्द्र नौलखाले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए । जुन प्रस्तावलाई साधारण सभाले बहुमतले पारित भएको थियो ।