- चिरफार डटकम, विराटनगर ४९७ पटक हेरिएको
सोमबार, आश्विन ०८, २०८० समय : १७:५२:२१ , १ वर्ष अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८०/०८१ को २ महिनामा ९४ प्रतिशतले राजश्व असुली गरेको छ । देश चरम आर्थिक मन्दीको भार खेपीरहेको बेला कार्यालयले उत्साहजनक रुपमा राजश्व असुली गरेको हो । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन र भाद्र गरी २ महिनामा १ अर्ब २० करोड ३८ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा १ अर्ब १२ करोड ९७ लाख रुपैयाँ राजश्व असुली गरेको छ ।
जुन लक्ष्यको तुलनामा ९४ प्रतिशतले राजश्व असुली हो । कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० को साउन र भाद्र गरी २ महिनामा ९५ करोड रुपैयाँ राजश्व असुली गरेको थियो । कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन र भाद्र गरी २ महिनामा ११९ प्रतिशतले बढि राजश्व असुली गरेको हो ।
आन्तरिक राजश्व कार्यालय विराटनगरमा डा. डि.बि. क्षेत्री प्रमुख कर अधिकृतको भूमिकामा रहेको छ । र उनको कडा मेहनत र लगनशीलकै कारण कार्यालयले कठिन अवस्थामा उत्साह जनक रुपमा राजश्व असुली गरिरहेको छ ।