कोशी प्रदेशमा २० करोड रुपैयाँ लगानी भित्रियो 

  • ब्रह्मदेव यादव, विराटनगर ७५४  पटक हेरिएको

बिहिबार, आश्विन ०४, २०८० समय : १६:५७:२८ , १ वर्ष अगाडि

कोशी प्रदेशमा २० करोड रुपैयाँ लगानी भित्रिएको छ । साना तथा मझौला उद्योगको संरक्षण र प्रर्वद्धनका लागि यत्रो मोटो रकम लगानी भित्रिएको हो । ठूला उद्योगको संरक्षण र प्रर्वद्धनका लागि केही समय भित्र यो भन्दा पनि मोटो रकम भित्र्याउने तयारी थालिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सि.सि.आई.) कोशी प्रदेश समिति र आध्यन्त फन्ड म्यानेजमेन्ट लि. ले विहीबार विराटनगरमा आयोजना गरेको लगानी सम्मेलनमा लगानी कर्ताले कोशी प्रदेशको कृषि क्षेत्रको उद्योगमा २० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् ।

ग्लोबल फन्ड काठमाडौंको तर्फबाट प्रबन्ध निर्देशक डा. मनिष थापाले एक्लै कोशी प्रदेशको ४ वटा कृषि उद्योगमा ९ करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जसमध्ये एउटै उद्योगमा थापाले ५ करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् । आध्यन्त फन्ड म्यानेजमेन्ट लि. ले कोशी प्रदेशको थप ४ वटा कृषि उद्योमा ११ करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् । विराटनगरको लगानी सम्मेलनमा कोशी प्रदेशका ८ वटा कृषि उद्योगले सहभागिता जनाउँदै आ–आफ्ना उद्योगको लगानी रकम, उत्पादन बिक्रीको बारेमा जानकारी गराउँदै उद्योगको संरक्षण र प्रर्वद्धनका लागि थप लगानीको आवश्यकता रहेको भन्दै लगानी कर्ता गुहारे पछि थप २० करोड रुपैयाँ लगानी गर्न लगान कर्ता अगाडि बढेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष तथा बरिष्ठ उद्योगी राजेन्द्र राउतले कोशी प्रदेश कृषि क्षेत्रमा अब्बल सम्भावना बोकेको क्षेत्र रहेकोले लगानी कर्ताको लगानी खेर नजाने उल्लेख गर्दै नेपाली उत्पादन विदेशमा निर्यात गरेर विदेशी रकम नेपाल भित्र्याउन थप लगानीको आवश्यकता रहेको लगानी कर्तालाई विश्वस्त पारेपछि सम्मेलनमा सहभागि लगानी कर्ताले २० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो ।

लगानी सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला, कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी सचिव डा. लेखराज दाहाल, आध्यन्त फन्ड म्यानेजमेन्ट लि. का अध्यक्ष यज्ञप्रसाद न्यौपाने सहित लगानी कर्ता, उद्योगी, व्यवसायी, चार्टर एकाउन्टेन्टर व्यवस्थापन संकाय तर्फ उच्च शिक्षा अध्ययन गरिरहेका विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।