विराटनगरका गोल्छा दम्पतीको तपस्या सकियो

  • चिरफार डटकम, विराटनगर ८३१  पटक हेरिएको

बुधबार, आश्विन ०३, २०८० समय : १७:२४:४४ , १ वर्ष अगाडि

विराटनगरका गोल्छा दम्पतीले गरेको तपस्या बुधबार सकिएको छ । विराटनगरको मेनरोड निवासी जितेन्द्र गोल्छाले ९ दिन र उनका श्रीमती संगीता गोल्छाले १५ दिनसम्म निराधार व्रत बसेर तपस्या गरेका थिए । जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका निवर्तमान अध्यक्ष जितेन्द्र गोल्छा र उनका श्रीमती संगीता गोल्छाले जैन धर्मगुरु डा. ज्ञानेन्द्र मुनी र सुबोध मुनिको प्रेरणाले तपस्या गरेका थिए । 

जैन धर्मावलम्बीहरू आत्मशुद्धि र कर्म निर्जलाका लागि निराधार व्रत बसेर तपस्या गर्ने प्रचलन छ । सूर्य उदाएपछि सूर्य नअस्ताउन्जेल सम्म बिचको समय अवधिमा पानी मात्रै खाएर गोल्छा दम्पतीले तपस्या गरेका थिए । तेरापंथ युवक परिषद विराटनगरका अध्यक्ष मोहित लालवानी र सचिव अरिहन्त दुगडले  गोल्छा दम्पतीलाई तपस्याको बेला जैन संस्कार विधि र परम्पराको बारेमा निरन्तर जानकारी गराएका थिए ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सचिव जितेन्द्र गोल्छा र उनको श्रीमती बुधबार तपस्या समापन गरेको छ । तपस्या समापन समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायत समाजका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।