पहिचान पक्षधर एमाले प्रति आक्रामक, महेश बस्नेत कालो सुचीमा 

  • ब्रह्मदेव यादव, विराटनगर ४८२  पटक हेरिएको

मंगलबार, आश्विन ०२, २०८० समय : १७:४७:५५ , १ वर्ष अगाडि

कोशी प्रदेश नामकरण विरुद्ध असन्तुष्ट पहिचान पक्षधर नेकपा एमाले प्रति आक्रामक देखिएको छ । प्रदेश नं. १ पुनः नामकरण संघर्ष समितिले मंगलबार विराटनगरमा वृहत मोटरसाइकल र्‍याली मार्फत शक्ति प्रदर्शन गर्दै नेकपा एमालेका नेता महेश बस्नेतलाई कालो सुचीमा राख्दै प्रदेश प्रवेशमा प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । केही दिन अगाडि एमाले नेता महेश बस्नेतलाई धरानबाट धनकुटाको कार्यक्रममा जान दिएको र धनकुटाबाट फर्केर धरान आइसकेपछि एक कार्यक्रममा पहिचान पक्षधरलाई गाली गरेकोले बस्नेतलाई कालो सुचीमा राख्दै प्रदेश प्रवेशमा प्रतिबन्ध लगाइएको किराँत राई यायोख्खाका केन्द्रिय अध्यक्ष जीवन हताचो राईले बताए ।

नेकपा एमाले निकट युवा संघले असोज १० गते मोरङको सुन्दरहरैंचा नगरपालिकामा गर्न लागेको कार्यक्रमको ब्यानरमा कोशी प्रदेश उल्लेख गरेको छ । र कोशी प्रदेशलाई अनुमोदन गराउने गरी आयोजना गर्न लागेको कार्यक्रममा पहिचान पक्षधरलाई गाली गलौजको भाषा प्रयोग गरेको खण्डमा कार्यक्रमबाटै एमाले र युवा संघका नेतालाई लखेटिने राईले घोषणा गरेका छन् । पहिचान पक्षधरले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रति आक्रामक रुपमा अभिव्यक्ति दिएका छन् । कोशी प्रदेश नामाकरण घोषणा गर्दा कार्की नै मुख्यमन्त्री थिए । र अहिलेपनि कार्की नै मुख्यमन्त्री रहेको बेला पहिचान पक्षधरको आन्दोलनलाई दबाउन एकै पटक विराटनगरमा सोमबारदेखि लागु हुने गरी २ महिनाका लागि निषेधाज्ञा लगाएको प्रति रोष प्रकट गरेका छन् ।

जुन सरकारको आफ्नै आयुको बारेमा थाहा छैन । त्यो सरकारले एकै पटक दुई महिनाका लागि निषेधाज्ञा लगाउनु हाँस्यास्पद रहेको राईले बताए । अब कोशी प्रदेशलाई अनुमोदन गराउने गरी प्रदेश नं. १ मा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टीले गर्ने सभा सम्मेलनलाई प्रतिबन्ध लगाएको राईले उद्घोष गरेका छन् । १ नं. प्रदेश भरीबाट बाक्लो सङ्ख्यामा मोटरसाइकल मार्फत विराटनगर आइपुगेका पहिचान पक्षधरले तत्कालीन १ नं. प्रदेशलाई कोशी प्रदेशमा रूपान्तरण गर्ने ८२ सांसदका विरुद्ध नारावाजी गरेका छन् ।

कोशी प्रदेश नामकरणको पक्षमा मतदान गर्ने ८२ सांसदले पुनः नामकरणलाई सच्याउने दिशातर्फ अगाडि नबढे उनिहरुलाई पनि प्रदेश प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । पहिचान पक्षधरले मंगलबार विराटनगरको महेन्द्र चोकमा आयोजना गरेको विरोध सभामा प्रदेश नं. १ पुनः नामाकरण समितिका संयोजक प्रेम एक्टेन लगायतका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।