जसपा नेपाल र विराटनगर महानगरपालिका बिच दुई बुन्दे सहमति 

  • चिरफार डटकम, विराटनगर ५३१  पटक हेरिएको

आइतबार, भाद्र ३१, २०८० समय : १५:२८:२२ , १ वर्ष अगाडि

जनता समाजवादी पार्टी नेपाल र विराटनगर महानगरपालिका बिच आइतबार दुई बुन्दे सहमति भएको छ । जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव माथि विराटनगर महानगर पालिकाका नगर रक्षकद्वारा गरिएको दुर्व्यवहार विरुद्ध आन्दोलित जनता समाजवादी पार्टी नेपाल सँग विराटनगर महानगरपालिकाले दुई बुन्दे सहमति गर्दै घटनालाई मिलाउने प्रयास गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, अधिकृत अर्जुन थपलिया, नगर रक्षक विभाग प्रमुख प्रहरी निरीक्षक राजन पौडेल र जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य प्रेम नारायण थापा, विराटनगर महानगर उपाध्यक्ष मो. नसरुल, युवा नेता राकेश रोशन यादव, महेश्वर यादव, मन्थलाल यादव, सुशिल यादव र महिला नेत्री सदिना खातुन वार्ता बैठकमा सहभागि थिए । वार्ता बैठकमा सहभागि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले घटनामा संलग्न नगर रक्षकलाई असोज २ गते भित्र कारवाही गर्ने र नगर रक्षकको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्ने विषयमा सहमति भएको छ ।

बैठकमा सहभागि जसपा नेपालका युवा नेता राकेश रोशन यादवले असोज २ गते भित्र घटनामा संलग्न नगर रक्षकलाई कारवाही नगरे विराटनगर महानगरपालिका विरुद्ध पुनः आन्दोलन गर्ने धारणा व्यक्त गरेका छन् । बुधबार विराटनगरको कोशी अस्पताल अगाडि सिटी सफारी पार्किङको विषयमा जसपा नेपालका कोशी प्रदेश उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव र विराटनगर महानगरपालिकाका नगर रक्षक बिच विवाद भएको थियो । लगत्तै नगर रक्षकले यादवलाई कोठालो समातेर लछारपछार पार्दै वडा प्रहरी कार्यालय विराटनगरमा बुझाएका थिए । पार्टीका नेतामाथि नगर रक्षकद्वारा दुर्व्यवहार भएको विषयलाई लिएर जसपा नेपाल आन्दोलित थिए । 

जसपा नेपालले शुक्रबार विराटनगर महानगरपालिका घेराउ गरेर घटनामा संलग्न नगर रक्षकलाई जागिरबाट बर्खास्त गर्न माग गरेका थिए । जसपा नेपाल र विराटनगर महानगरपालिका बिच शुक्रबार पहिलो चरणको वार्ता भएको थियो तर वार्ता चाही निष्कर्षमा पुग्न सकेन । आइतबार पुनः बसेको बैठकले दुई बुन्दे सहमति गरेको छ ।