- ब्रह्मदेव यादव, विराटनगर १०१६ पटक हेरिएको
शुक्रबार, भाद्र २९, २०८० समय : १६:५७:५५ , १ वर्ष अगाडि
जनता समाजवादी पार्टी नेपालका पदाधिकारी र विराटनगर महानगरपालिकाका नगर रक्षक बिच शुक्रबारको वार्ता बैठकमा चर्काचर्की भएपछि आइतबारसम्मको लागि वार्ता स्थगन भएको छ । जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश समितिका उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव माथि विराटनगर महानगरपालिकाका नगर रक्षकले दुर्व्यवहार गरेको विषयलाई लिएर आन्दोलित बनेको जनता समाजवादी पार्टी नेपालका पदाधिकारी विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाकै पहलमा शुक्रबार वार्तामा सहभागि भएका थिए ।
मेयर कोइरालाकै अध्यक्षतामा शुक्रबार वार्ता बैठक सुरुभए लगत्तै जनता समाजवादी पार्टी नेपालका पदाधिकारी र विराटनगर महानगरपालिकाका नगर रक्षक बिच घटनाको विषयलाई लिएर आरोप प्रत्यारोप लगाउँदै चर्काचर्की बहस सुरु भएपछि आइतबार पुनः वार्तामा बस्ने गरी बैठक स्थगन भएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । वार्ता बैठकमा महानगरपालिका मेयर नागेश कोइराला, जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुल, विराटनगर महानगरपालिकाका नगर रक्षक विभाग प्रमुख प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डीएसपी विजय श्रेष्ठ सहित सशस्त्र प्रहरीका पदाधिकारी, नगर रक्षक र जसपा नेपालका नेता तथा कार्यकर्ताहरू सहभागि थिए ।
बार्ता बैठक सुरु हुन साथ जसपा नेपालका पदाधिकारीहरूले पार्टीका कोशी प्रदेश उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव माथि दुर्व्यवहार गर्ने नगर रक्षकलाई जागिरबाट बर्खास्त गर्नुपर्ने एक सूत्रीय माग अगाडि सारेका थिए । नगर रक्षकले त्यसको प्रतिकार गर्दै उल्टै आफूहरू माथि दुर्व्यवहार गर्ने यादव माथि कारवाही गर्नुपर्ने अडान लिएपछि दुवै पक्षबीच चर्काचर्की भएको थियो । र त्यसको केही समय पछि आइतबार सम्मको लागि वार्ता बैठक स्थगन भएको हो । जसपा नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुलले आइतबार पुनः वार्ता गर्ने गरी बैठक स्थगन भएको बताए ।
बुधबार विराटनगर स्थित कोशी अस्पताल अगाडि सिटी सफारी पार्किङको विषयलाई लिएर विवाद भएपछि विराटनगर महानगरपालिकाका नगर रक्षक जसपा नेपाल कोशी प्रदेशका उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष यादवलाई कठालो समातेर सडकमा घिसार्दै वडा प्रहरी कार्यालय पुर्याएको थियो । जसका विरुद्ध आन्दोलित बनेको जसपा नेपालले बिहीबार पत्रकार सम्मेलन गरेर विराटनगर महानगरपालिका विरुद्ध आन्दोलनको घोषणा गरेका थिए । र शुक्रबार विराटनगरको बुधहाट चौकबाट जुलुस निकालेर विराटनगर महानगरपालिका पुगेर घन्टौँ मेयर नागेश कोइरालाको राजिनामा माग्दै घटनामा संलग्न नगर रक्षकलाई जागिरबाट बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।
विराटनगर महानगरपालिका अगाडि आयोजित विरोध सभा कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य जयराम यादव, जसपा नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुल, जसपा नेपाल जहदा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष अनिल ठाकुर, लोसपा नेपाल मोरङ जिल्ला अध्यक्ष मो. कादिर र सामाजिक अभियन्ता सलिम अंसारीले घटनामा संलग्न नगर रक्षकलाई कारवाही नगरेसम्म निरन्तर आन्दोलन गर्ने उद्घोष गरेका थिए ।