कोशी प्रदेशमा नेपाली कांग्रेस संसदिय दलको नेता परिवर्तन हुनु पर्छ– कार्की

  • ब्रह्मदेव यादव, विराटनगर ६८२  पटक हेरिएको

मंगलबार, भाद्र २६, २०८० समय : १७:१५:४७ , १ वर्ष अगाडि

कोशी प्रदेशमा नेपाली कांग्रेस संसदिय दलको नेता परिवर्तन हुनु पर्ने आवाज उठेको छ । दुई–दुई पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता उद्धव थापाले विश्वासको मत हासिल गर्न नसकेपछि पदमुक्त भएका छन् । जनताको अनुहारमा खुशी प्रदान गर्नकालागि अब उद्धव थापाले दलको नेता परित्याग गर्नुपर्ने जोडदार आवाज उठेको छ ।

सत्ताघटक कोशी प्रदेशको चार दलिय गठबन्धनका शिर्षनेताहरु समेत अब उद्धव थापालाई मुख्यमन्त्री पदको उम्मेदवार बनाउन इच्छुक देखिएको छैन । नेपाली कांग्रेस कोशी प्रदेशका सांसद तथा कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मंगलबार पत्रकार सँग अन्तरसम्वाद गर्दै उद्धव थापाले दलको नेता त्याग गर्नुपर्ने बताए । सत्ताघटक चार दलिय गठबन्धनको तर्फबाट दुई दुई पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियक्त उद्धव थापाले विश्वासको मत हासिल गर्न नसकेकोले अब दलको नेता परित्याग गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने कार्कीले बताए ।

नेपाली कांग्रेस भित्र कोशी प्रदेशको मुख्यमन्त्रीको दौडमा रहेका कांग्रेस केन्द्रिय सदस्य तथा कोशी प्रदेश सांसद अमृत अर्याललाई संस्थापन पक्ष र संस्थापनइतर पक्षले संसदिय दलको नेतामा स्वीकार गर्ने अवस्था नरहेकोले अर्यालले पनि संसदिय दलको नेतामा आफुलाई समर्थन गर्नुपर्ने कार्कीले बताए । कोशी प्रदेशमा सत्ताघटक ४ दलिय गठबन्धनको तर्फबाट नेपाली कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता उद्धव थापा दुई दुई पटक मुख्यमन्त्री नियुक्त भईसकेका छन् । तर थापाले दुवैपटक विश्वासको मत हासिल गर्न सकेनन् ।

त्यसपछि कोशी प्रदेशमा ठुलो दलको हैसियतमा नेकपा एमाले कोशी प्रदेश संसदिय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । तर मुख्यमन्त्री कार्कीले विश्वासको मत हाँसिल गर्न सक्ने अवस्था छैन । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको आवश्यकता पर्छ । कोशी प्रदेशमा नेकपा एमालेको उपसभामुख सहित ४० सांसद छ ।

राप्रपाका ६ सांसद छन् । दुवै मिलाएर ४६ सांसद पुग्छ । त्यसमापनि प्रदेश सभाको अध्यक्षता गर्ने उपसभामुखले मतदान गर्न पाउने छैन । बहुमतकालागि ४७ सांसद आवश्यक रहेकोमा एमाले र राप्रपा सँग ४५ सांसद मात्रै रहेकोले विश्वासको मत हाँसिल गर्न सक्दैन । असोज २१ पछि पुनः कोशी प्रदेशमा सर्वपक्ष बहुमतको सरकार बन्ने टुंगो लागेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेस भित्र कोशी प्रदेशमा संसदिय दलको नेता परिवर्तनको आवाज उठेको हो ।