सबै दलका नेताको सहयोगमा प्रभु साहको कार्यक्रम

  • ब्रह्मदेव यादव, विराटनगर ४४३  पटक हेरिएको

सोमबार, भाद्र २५, २०८० समय : १६:३३:५३ , १ वर्ष अगाडि

प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीको कार्यक्रमलाई सबै राजनीतिक दल निकट नेता तथा कार्यकर्ताहरुले सहयोग गरेका छन् । रौतहटका साहले सोमबार विराटनगरमा पहिलो पटक कोशी प्रदेश स्तरिय कार्यक्रमको आयोजना गरेको र त्यो कार्यक्रमलाई सफल बनाउन विभिन्न राजनीतिक दल निकट नेता तथा कार्यकर्ताहरुले सहयोग गरेका छन् । नेकपा माओवादी केन्द्रका पूर्वनेता तथा पूर्वमन्त्री प्रभु साहले पछिल्लो समय आम जनता पार्टी गठन गरेका छन् । र त्यही पार्टीले सोमबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरिय बैठक कार्यक्रमलाई सबै राजनीतिक दल निकट नेताहरुले सहयोग गरे । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको मोरङ क्षेत्र नं. ५ मा बलियो संगठन छ । पहिलो संविधान सभामा पार्टीका अध्यक्ष उपेन्द्र यादव र त्यसपछि भएको उपनिर्वाचनमा जयराम यादवले शान्दार जित हाँसिल गरेका थिए ।

त्यसपछिको निर्वाचनमा जसपा नेपाल सो क्षेत्रबाट प्रतिनिधि सभामा जित हाँसिल गर्न सकिरहेको छैन । दोस्रो संविधान सभामा नेपाली कांग्रेसका अमृत अर्याल, तेस्रो संसदिय निर्वाचनमा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल र यसपटकको संसदिय निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले जित हाँसिल गरेका छन् । शिवकुमार मण्डलले तेस्रो संसदिय निर्वाचनमा नेपाली कांग्रेसका अमृत अर्याललाई पराजित गरेका थिए । तर यस पटक शिवकुमार मण्डल स्वत्रन्त्र उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित भए । मोरङ क्षेत्र नं. ५ मा साहु समुदायको अधिक मतदाता रहेका छन् । र त्यसलाई संगठित गर्ने उद्देश्यका साथ प्रभु साहले तेली र सुडी समाजको सहयोगमा सोमबार विराटनगरमा कार्यक्रम आयोजना गरेका थिए ।

जुन कार्यक्रमलाई भित्र भित्रै नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले सहयोग गरे । जसपा नेपालको बलियो आधार क्षेत्रलाई ध्वस्त पार्न मण्डलले साहु समुदायलाई संगठित गर्न पार्टीका कार्यकर्ता परिचालन गरेर प्रभु साहलाई सहयोग गरेको हो । जुन कार्यकर्ता विराटनगरसम्म ल्याउन खर्चको व्यवस्थापन प्रभु साहले स्वयम् गरेका थिए । यस बाहेक विभिन्न राजनैतिक दलनिकट नेता तथा कार्यकर्ताहरुले प्रभु साहको कार्यक्रमलाई सहयोग गरे ।

नेपाली कांग्रेसका युवा नेता तथा तेली समाजका अगुवा गणेश साह, नेकपा एमालेका युवा नेता तथा तेली समाजका अगुवा सन्तोष साह, नेकपा माओवादी केन्द्रका नेता तथा सुडी समाजका अगुवा रामेश्वर साह, लोसपाका नेता तथा सुडी समाजका अगुवा सत्यनारायण साह, नेकपा एमालेका युवा नेता तथा विराटनगर–६ का पूर्व वडाध्यक्ष विजय कामत, तेली समाजका अगुवा रामप्रसाद साह र संजयकुमार साहले प्रभु साहको कार्यक्रमलाई सफल बनाउन सहयोग गरे ।

सोमबार नै समाजवादी मोर्चाले विराटनगरमा भव्य कार्यक्रम गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव लगायतका नेताहरु मोर्चाको कार्यक्रममा सहभागि भए । आफ्नै पार्टी नेकपा माओवादी केन्द्र मोर्चाको कार्यक्रममा सहभागिता जनाई रहेको बेला शिवकुमार मण्डलले भित्र भित्रै प्रभु साहको कार्यक्रमलाई सहयोग गरेर उपेन्द्र यादवको आधार क्षेत्रका मतदातालाई जातिय आधारमा विभाजन गर्न खोजेका छन् । कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साह, केन्द्रिय उपाध्यक्ष तिलक थापा मगर, केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज रामपृत राम लगायतका नेताहरु सहभागि थिए ।