सामुहिक लुटपाटमा संलग्न ६ जना पक्राउ

  • ब्रह्मदेव यादव, विराटनगर ४७७  पटक हेरिएको

आइतबार, भाद्र २४, २०८० समय : १६:२७:४३ , १ वर्ष अगाडि

मोरङ प्रहरीले सामुहिक लुटपाटमा संलग्न ६ जना लुटेराहरुलाई पक्राउ गरेको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाको उपस्थितिमा मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सामुहिक लुटपाटमा संलग्न ६ जना लुटेरालाई सार्वजनिक गरेका छन् ।

मोरङ प्रहरीले सामुहिक लुटपाट गिरोहमा संलग्न लुटेराहरुले प्रयोग गर्ने गरेको मोटरसाईकल, हातहतियार समेत सार्वजनिक गरेका छन् । मोरङ प्रहरीका प्रहरी प्रमुख एसपी दिपक पोखरेलले पत्रकार सम्मेलन मार्फत लुटपाटमा संलग्न दुहवी नगरपालिका–४ का नसुदिन मिया, दुहवी–१ का अलिम मुर्तुजा, दुहवी–६ का मो.आलम, बुढिगंगा–४ का रिजवान मिया, बुढिगंगा–५ का नजरुल मिया, बुढिगंगा–४ का सिजाम आलमलाई पक्राउ गरेको जानकारी गराए ।

एसपी पोखरेलले ईलाका प्रहरी कार्यालय दुहवीसँग सहकार्य गरेर सामुहिक लुटपाटमा संलग्न मोरङ र सुनसरीका लुटेराहरुलाई पक्राउ गर्न सफल भएको बताए । भाद्र २२ गते रातको ११ः३३ बजे बुढिगंगा गाउँपालिकाको वडा नं. ५ अन्तर्गत कोयलपुर क्षेत्रमा पैदल हिडिरहेका ३ जना व्यक्तिलाई लुटपाट गर्न खोजेको प्रहरी समक्ष आएको सूचनाको आधारमा मोरङ प्रहरीले नहर सडक खण्डबाट ६ जना लुटेरालाई पक्राउ गर्न सफल भएका थिए ।

मोरङ प्रहरीले घटनाको अनुसन्धानमा सफलता प्राप्त गरेका १० जना प्रहरीलाई पुरस्कृत गर्ने डिआईजी बास्तोलाले घोषणा गरेका छन् ।

मोरङ प्रहरीले भाद्र २४ गते विराटनगर–१६ बाट भारतबाट नेपाल तर्फ आइरहेका भारत बिहारका चन्दनकुमार यादवलाई १० लाख ५० हजार भारु सहित पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्याल रानीका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेल्वासे नेतृत्वको टोलीले भारु रुपैयाँ सहित यादवलाई पक्राउ गर्न सफल भएका थिए ।