कोशी प्रदेशमा विकास निर्माण कार्य ठप्प

  • चिरफार डटकम, विराटनगर ५६१  पटक हेरिएको

शुक्रबार, भाद्र ०८, २०८० समय : १५:०२:१२ , १ वर्ष अगाडि

कोशी प्रदेशमा विकास निर्माण कार्य ठप्प छ । कोशी प्रदेश सरकारले पुँजीगत शिर्षक बजेट खर्च गर्ने अख्तियारी प्रत्यायोजन नगरेकोले विकास निर्माण कार्य ठप्प रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत विदुर पौडेलले जानकारी गराए ।

उद्योग संगठन मोरङ सँग सहकार्य गरेर संसदिय पत्रकार मञ्च कोशी प्रदेश समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको विकास निर्माण पक्रिया र आर्थिक संघियता कार्यान्वयनको सवाल विषयक अभिमुखिकरण कार्यक्रममा अधिकृत पौडेलले यस्तो जानकारी गराएको हो । कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०/०८१ का लागि असार ३२ गते अध्यादेश मार्फत ३६ अर्ब २४ करोडको बजेट ल्याएका थिए ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले चालु शिर्षक बजेट खर्च गर्ने अख्तियारी दिएपनि पुँजीगत बजेट खर्च गर्ने सरोकारबाला निकायलाई अधिकार प्रत्यायोजन नगरेको कारण विकास निर्माणको कार्य ठप्प छ ।

कार्यक्रमको उद्घाटन समारोहमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे र संसदिय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुँईटेलले आ–आफ्ना धाराण व्यक्त गरेका थिए । कार्यक्रममा संसदिय पत्रकारीता सँग सरोकार राख्ने ३० जना संचार कर्मीहरुको सहभागिता रहेका थिए ।