१ सय २५ ट्याङ्कर विक्रीमा

  • चिरफार डटकम, विराटनगर ९२५  पटक हेरिएको

बुधबार, साउन ३१, २०८० समय : १२:४६:२९ , १ वर्ष अगाडि

पेट्रोलियम ढुवानी व्यवसायीहरुले १ सय २५ भन्दा बढि ट्याङ्कर विक्री गर्न लागेका छन् । इन्धन ढुवानी गरेर प्राप्त गरेको रकमले खर्च धान्न नसक्दा व्यवसायीले ट्याङ्कर विक्री गर्न लागेका हुन् ।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरका महासचिव शत्रुघनप्रसाद यादवले इन्धन ढुवानी गरेर मासिक रुपमा प्राप्त हुने गरेको रकमले इन्धन खर्च, चालक र सहचालकको तलव र उनीहरुको खाजा खर्च वापतको रकम उठ्न नसक्दा ट्याङ्कर विक्री गर्न लागेको बताए । महासचिव यादवका अनुसार पूर्वाञ्च पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरमा २ सय भन्दा बढि व्यवसायीको ४ सय भन्दा बढि ट्याङ्कर रहेका छन् । जुन ट्याङ्कर आलोपालो प्रणाली अन्तर्गत इन्धन ढुवानी गरिरहेका छन् ।

पछिल्लो समय भारतबाट विरगंजको अमलेखगञ्ज डिपोसम्म पाइपलाइन मार्फत इन्धन आयात भई रहेको छ । विराटनगरका रहेका पेट्रोलियम व्यवासयीका ट्याङ्करहरु अमलेखगञ्जबाट विराटनगरसम्म डिजेल ढुवानी गरिरहेका छन् । नेपाल आयल निगमले आलोपालो प्रणाली अन्तर्गत १ ट्याङ्करलाई महिनामा २ पटकसम्म डिजेल ढुवानी गर्न दिने व्यवस्था गरेको छ ।

व्यवसायीले महिनामा २ पटक डिजेल ढुवानी गर्दा १ लाख १४ हजार रुपैयाँ पाउने गरेको छ । जसमध्ये २ टिपको इन्धन खर्च ७० हजार, चालक र सहचालकको मासिक तलव ४० हजार र उनीहरुको खाना र खाजा खर्च १५ देखि २० हजार रुपैयाँ खर्च हुने गरेको छ । जुन महिनाको १ लाख २५ हजार भन्दा बढि रुपैयाँ खर्च रकम हो । तर मासिक आम्दानी १ लाख १४ हजार रुपैयाँ हुने गरेको छ ।

यस बाहेक व्यवसायीले ट्याङ्कर खरीद गर्दा लिएको ऋणको ब्याज भुक्तानी, मोबिल खर्च, मर्मत सम्भार खर्च जोडदा मोटो रकम खर्च भई रहेको छ । तर आम्दानी घटिरहेको छ । व्यवसायीले एउटा नया ट्याङ्कर खरीद गर्दा ६० लाख भन्दा बढि मूल्य पर्छ । तर, यस्तो अवस्थामा व्यवसायीले ट्याङ्करको संख्या घटाउने गरी १ सय २५ भन्दा बढि ट्याङ्कर विक्रीका लागि राखेको छ ।