- ब्रह्मदेव यादव, विराटनगर ४५५ पटक हेरिएको
बुधबार, साउन १७, २०८० समय : १८:५४:५७ , १ वर्ष अगाडि
कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । नेकपा माओवादी केन्द्रका सांसद गौतम कोशी प्रदेश सभामा सभामुखको भुमिकामा थिए । ९३ सदस्य कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्छ । तर सत्ताघटक नेपाली कांग्रेस सँग २९, नेकपा माओवादी केन्द्रसँग १२, नेकपा एकिकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टी नेपाल सँग १ गरेर ४६ सांसद मात्र थिए । गौतमलाई सभामुखबाट राजिनामा गराएर आवश्यक ४७ सांसद संख्या पुग्छ ।
सत्ताघटक ४ दलले गौतमलाई सभामुखबाट राजिनामा गराई आवश्यक ४७ संख्या पु¥याएर सरकार गठन गरेको हो । मंगलबार मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस कोशी प्रदेश संसदिय दलका नेता उद्धव थापा बुधबार मुख्यमन्त्री पदको सपथ लिएका छन् । मुख्यमन्त्री थापाले सभामुखबाट राजिनामा गर्न लगाएका नेकपा माओवादी केन्द्रका सांसद गौतमलाई मुख्यमन्त्री पछि रोलक्रम अनुसार दोस्रो स्थानको अर्थमन्त्रालयको महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।
बुधबार नै नेकपा एकिकृत समाजवादीका कमल जबेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र नेपाली कांग्रेसका प्रदिप सुनुवारलाई खानेपानी सिचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । बाँकी मन्त्रालय मुख्यमन्त्री थापाले आफुसँगै राखेका छन् । बुधबार बिहान १० बजेकालागि मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम तय गरिएको थियो । तर सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो नलागेपछि सपथ ग्रहण कार्यक्रम बेलुका ५ बजेकोलागि तय गरिएको थियो । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री थापाले मन्त्रीहरुलाई सपथ ग्रहण गराए ।