मोरङबाट ५०६७ लाई जन्मसिद्धको नागरिकता

  • चिरफार डटकम, विराटनगर ३९७  पटक हेरिएको

बुधबार, साउन १७, २०८० समय : १६:३६:०५ , १ वर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले १ महिनाको अवधिमा ५०६७ जनालाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता वितरण गरेको छ । २०६३/०६४ मा मोरङबाट ३५ हजारको हाराहारीमा जन्मसिद्धलाई नेपाली नागरिकता वितरण गरिएका थियो । तिनै नेपाली नागरिकका छोराछोरीलाई जन्मसिद्धको आधारमा नागरिकता दिने काम भई रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

२०६३/०६४ मा सरकारले जन्मसिद्धको आधारमा नेपाली नागरिकता वितरण गर्दा नेपालमै सबैभन्दा बढि मोरङबाट ३५ हजारले नेपाली नागरिकता लिएका थिए । र तिनै नागरिकका छोराछोरीलाई यतिखेर जन्मसिद्धको आधारमा नागरिकता दिने काम भई रहेको छ । २०८० असार ११ गतेदेखि साउन १६ गतेसम्म ५०६७ जनाले नागरिकता लिइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रहरी प्रशासन कार्यालय रंगेली र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट प्रत्येक दिन १५० जनासम्मलाई नागरिकता दिने काम भईरहेको छ । नागरिकता लिनको लागि मोरङ प्रशासनले टोकन प्रणाली लागु गरेको छ । पहिला टोकन लिनेलाई समय सिमा तोकेर नागरिकता दिने काम भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।