- ब्रह्मदेव यादव, विराटनगर ५७३ पटक हेरिएको
सोमबार, साउन ०८, २०८० समय : १४:४५:४६ , १ वर्ष अगाडि
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा गरेको विकास निर्माणको काम बारे जनस्तरबाट प्रश्न उठेको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय विराटनगरले आर्थिक वर्ष २०७९/०८० मा गरेको विकास निर्माण कार्यामा ७५ प्रतिशत रकम भ्रष्ट्राचार भएको भन्दै जनस्तरबाट प्रश्न उठेको हो । र यसरी भएको विकास निर्माण कार्यको अनियमितता तथा भ्रष्ट्राचारमा संलग्न सरकारी कर्मचारीलाई दण्डित गर्न जनस्तरबाटै आवाज उठेको छ ।
कार्यालयले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पसको दक्षिण तर्फ प्राज्ञिक मार्गमा २० लाखको लागतमा नाला निर्माण कार्य सकिएको छ । सरकारको रातो किताबमा नालामाथि ढक्कन हाल्ने बजेटमै व्यवस्था गरिएर निर्माण कार्य सुचारु गरिएको थियो । तर मापदण्ड विपरित गुणस्तरहिन सानो नाला निर्माण गर्दै नालामाथि ढक्कन नै नलगाई बजेट झवाम्म पारेको विषयमा स्थानियवासीले विरोध गरेको छ ।
स्थानियवासी टंक गिरी र राजन कडेलले सोमबार पत्रकार सम्मेलन गरेर २० लाख रकम मध्येबाट ४ लाख रकम बराबरको मात्रै नाला निर्माण भएकोले प्रदेश सरकार भ्रष्ट्राचारमा चुलुम्व डुवेको आरोप लगाए । गिरी नेकपा माओवादी केन्द्र र कडेल नेकपा एमालेका स्थानिय नेता हुन् । निर्माण कार्य बारे जानकारी लिन पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख सुशिल श्रेष्ठ र साइड हेर्ने अधिकृत प्रमोद चौधरी सँग सम्पर्क गर्दा दुवै जना सम्पर्कमा आउन मान्नु भएन । अधिकृत चौधरी सुत्केरी विदामा रहेकोले उनको मोबाइल उठेन । कार्यालय प्रमुख काम विशेषले कार्यालय बाहिर रहेकोले पटक पटक मोबाइलमा सम्पर्क गर्दा मोबाइल उठेन ।