- चिरफार डटकम, विराटनगर ५०९ पटक हेरिएको
बिहिबार, आषाढ २८, २०८० समय : १७:५४:३४ , १ वर्ष अगाडि
नेपाल ट्रेड यूनियन मोरङले मजदुरलाई न्यूनतम २५ हजार रुपैयाँ तलव दिन माग गरेको छ । २५ हजार रुपैयाँ तलव नदिने उद्योगी व्यवसायी सहित सरकारका विरुद्ध कडा आन्दोलन गर्ने यूनियनले चेतावनी दिएका छन् । नेपाली कांग्रेस निकट नेपाल ट्रेड यूनियन कांग्रेस मोरङले विहीबार मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै साउनदेखि मजदुरलाई न्यूनतम तलव २५ हजार रुपैयाँ दिन जोडदार माग गरेका छन् ।
नेपाल ट्रेड यूनियन कांग्रेस मोरङका अध्यक्ष सुशिल कोइराला, यूनियनका कोशी प्रदेश अध्यक्ष नारायण बाबु कार्की र यूनियनका कोशी प्रदेश महिला उपाध्यक्ष सुनिता घिमिरे नेतृत्वको टोली विहीबार सरकारलाई ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका थिए । सरकार र उद्योगी बिच सम्झौता भएबमोजिम प्रत्येक २/२ वर्षमा मजदुरको तलव बढाउने सहमती भएको छ ।
यस वर्ष तलव वृद्धिको वर्ष हो । र साउनदेखि उद्योगी व्यवसायीले मजदुरको तलव वृद्धि गर्नुपर्ने छ । यस अघि १५ हजार रुपैयाँ मजदुरले न्यूनतम तलव पाईरहेका छन् । नेपाल ट्रेड यूनियन कांग्रेस मोरङले १५ हजारबाट बढाएर एकैपटक २५ हजार रुपैयाँ मजदुरलाई तलव दिन सरकार गुहारेका हुन् ।