प्रति केजी ३ रुपैयाँको दरले चामलको मुल्य बढ्यो

  • ब्रह्मदेव यादव, विराटनगर ४५२  पटक हेरिएको

मंगलबार, आषाढ २६, २०८० समय : १६:१०:५० , १ वर्ष अगाडि

प्रति केजी ३ रुपैयाँको दरले चामलको मुल्य बढेको छ । चामल उत्पादन गर्ने उद्योगले मुल्य वृद्धि गरेपछि बजारमा चामलको खुद्रा मुल्य प्रति केजी ३ रुपैयाँले बढेको हो । एक हप्ता भित्र चामलको मुल्य प्रति केजी ३ रुपैयाँले बढेको छ । एक हप्ता अघिसम्म ५१० रुपैयाँमा विक्री भईरहेको ५ केजी प्याकेटको हुलासको जिरा मन्सुली चामल मुल्य बढेर ५२५ रुपैयाँ पुगेको छ । हुलासको मात्रै होइन चामल उत्पादन गर्ने सबै राइस तथा दाल मिलले आ-आफ्ना ब्राण्डको चामलको मुल्य बढाएको छ ।

बजारमा २०५० रुपैयाँमा विक्री भई रहेको २५ केजी प्याकेटको सबै ब्राण्डको चामलको मुल्य बढेर २१५० रुपैयाँ पुगेको छ । यो भनेको प्रति केजी ३ रुपैयाँ भन्दा बढि मुल्य वृद्धि हो । व्यवसायीले उद्योगबाट आफ्नो विक्री कक्षसम्म पुर्‍याएको चामलको सवारी भाडा थप गरेर उपभोक्ताबाटै रकम असुली गर्न थालेको छ । २०५० रुपैयाँमा विक्री भई रहेको चामलको प्रति केजी मूल्य ३ रुपैयाँले वृद्धि हुँदा २१२५ रुपैयाँ मात्रै हुन्छ । तर व्यवसायीले १ बोरामै २५ रुपैयाँ सवारी ढुवानी खर्च जोडेर चामलको प्रति बोरा मुल्य २१५० रुपैयाँ पुर्‍याएको छ । जुन चामल व्यवसायीको कालाबजारी नै हो ।

मोरङको बुढिगंगा गाउँपालिका स्थित हात्तिमुडामा संचालित स्वतिक राईस एण्ड दाल मिलका संचालक उद्योगी श्रवण अग्रवालले धानको मुल्य बढ्दा चामलको मुल्य बढेको बताए । तर उनले प्रति केजी ३ रुपैयाँ नभई १ रुपैयाँ ५० पैशासम्म चामलको मुल्य बढेको बताए ।