- चिरफार डटकम, विराटनगर ६७७ पटक हेरिएको
बुधबार, जेठ २४, २०८० समय : १५:१६:४१ , १ वर्ष अगाडि
कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्तागर्न तीन सदस्यीय वार्ताटोली गठन गरेका छन् । बुधबार विराटनगरमा बसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले तीन सदस्यीय वार्ताटोली गठन गरेको हो । वार्ताटोलीमा नेकपा एमाले र राप्रपाका मन्त्री मात्रै सहभागी छन् ।
नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी खानेपानी, सिचाई तथा उर्जा मन्त्री तिलकुमार म्याङबोको संयोजकमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, राप्रपाका तर्फबाट उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला सदस्य रहेको वार्ताटोली गठन गरिएको हो ।
२०७९ फागुन १७ गते तत्कालिन प्रदेश नं. १ प्रदेश सभाको बैठकले कोशी प्रदेश नामाकरण गरेको थियो । जुन नामाकरण प्रति पहिचान पक्षधरहरु असन्तुष्टी व्यक्ति गर्दै निरन्तर सडक आन्दोलन गरिरहेका छन् । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरि सकेका छन् ।
अल्पमतमा परेको कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले सरकारमा सहभागी नेकपा एमाले र राप्रपाका मन्त्रीलाई मात्रै सहभागिता गराएर गठन गरेको वार्ताटोलीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपा नेपालका प्रतिनिधि सहभागि नरहेकोले वार्ताटोलीको कुनै अर्थ नरहेको राजनैतिक जानकारको बुझाई छ ।