- चिरफार डटकम, विराटनगर ७९७ पटक हेरिएको
शुक्रबार, जेठ १२, २०८० समय : १७:४८:०४ , १ वर्ष अगाडि
जिल्ला प्रहरी कार्यालय मोरङले तस्करी विवादमा सीमान्त रानी सिमा प्रहरी कार्यालयमा खटिएका पुरै टोलीलाई फिर्ता बोलाएको छ । मोरङ प्रहरीले बरिष्ठ प्रहरी नायब निरिक्षक चन्द्रशेखर सिवाकोटीको नेतृत्वमा रानी सिमा प्रहरी कार्यालयमा प्रहरी टोली परिचालन गरेका थिए । तर तस्करी विवादमा पुरै टोली मुछिएपछि फिर्ता बोलाइएको मोरङ प्रहरीले जानकारी गराएको छ ।
मोरङ प्रहरीका अनुसार रानी सिमा प्रहरी कार्यालयमा नयाँ टोली पठाइएको छ । प्रहरी नायक निरिक्षक हरी बहादुर पुरीको नेतृत्वमा नयाँ टोली सिमा प्रहरी कार्यालयमा पठाइएको मोरङ प्रहरीले जानकारी गराएको छ । जसमा रामबिलास यादव र हेम राजवंशी गरेर २ जना प्रहरी सहायक निरिक्षकलाई टोलीमा समावेश गराइएको छ । यस अघि रानी सिमा प्रहरी कार्यालयमा प्रहरी नायक निरिक्षकको नेतृत्वमा एक जना प्रहरी सहायक निरिक्षक पठाउने गरेको थियो ।
कार्यालय प्रमुखले तस्करी संचालकनकालागि दायाँ बायाँ गरेको खण्डमा दुवै जना प्रहरी सहायक निरिक्षकले त्यसको जानकारी मोरङ प्रहरीलाई पठाउने गरी टोलीमा २ जना प्रहरी सहायक निरिक्षक समावेश गरिएको मोरङ प्रहरी निकट समाचार सुत्रले जानकारी गराएको छ । केही समय अगाडी सिमा प्रहरी कार्यालय रानीमा तस्करीको लाइन संचालन गर्ने कि नगर्ने विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बिच विवाद भएको थियो । र रातीको समयमा प्रहरीको दुई पक्ष र तस्कर समूह बिच सुरु भएको झगडा हात हालाहाल सम्म पुगेको थियो ।
ड्यूटिमा रहेका १ जना महिला प्रहरी माथि छेडछाड भएको र सिमा प्रहरी कार्यालय रानीको नेतृत्व सम्हालि रहेका बरिष्ठ प्रहरी नायब निरिक्षक चन्द्रशेखर सिवाकोटीको टोलीले संरक्षण गर्न नसकेको कारण पुरै टोली फिर्ता बोलाइएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरिक्षक प्रकाश रेग्मीले घटना घटेको बेला आफु बिदामा रहेकोले केही भन्न सक्ने अवस्था नरहेको बताए ।
इलाका प्रहरी कार्यालय रानीको मातहतमा सिमा प्रहरी कार्यालय रानी रहेका छन् । तर मोरङ प्रहरीले भेदभावको नीति अविलम्बन गरेर इलाका प्रहरी कार्यालय रानीका प्रमुखलाई कुनै कारवाही नगरी सिमा प्रहरी कार्यालय रानीका प्रमुख बरिष्ठ प्रहरी नायब निरिक्षक चन्द्रशेखर सिवाकोटीको टोलीलाई कारवाही स्वरुप फिर्ता बोलाएपछि मातहतका प्रहरी असन्तुष्ट देखिएको छ ।