- ब्रह्मदेव यादव, विराटनगर ७४१ पटक हेरिएको
बिहिबार, जेठ ११, २०८० समय : १८:३६:५० , १ वर्ष अगाडि
जिल्ला प्रहरी कार्यालय मोरङले ६१ लाख रुपैयाँ बराबरको सुन चाँदीको गहना सहित ३ जना चोरलाई विराटनगरबाट पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले बिहीबार पत्रकार सम्मेलन गरेर सुन चाँदीका गहना सहित पक्राउ गरिएका ३ जना चोरलाई सार्वजनिक गरेको हो । मोरङ प्रहरीले चोरको साथबाट बरामत गरेको २० तोला सुन र ३६ केजी चाँदी पनि सार्वजनिक गरेको छ । २० तोला सुनको २० लाख र ३६ केजी चाँदीको ४१ लाख बजार मूल्य रहेको एसपी पोखरेलले बताए ।
पक्राउ गरेका मध्ये विराटनगर–१२ का २१ बर्षिय राजकुमार कामत, १९ बर्षिय बिवेक कामत र २२ बर्षिय श्रीकान्त दास रहेका छन् । पक्राउ परेका ३ जना मध्ये विवेक कामत चोरी मुद्दामा नौ महिना र श्रीकान्त दास डाका मुद्दामा २० महिना जेल जीवन बिताएर रिहा भएका अपराधी प्रवित्तिका युवा हुन् । मोरङ प्रहरीले जेठ १० गते राती १ बजेको समयमा विराटनगर–१२ स्थित कोशी प्रोजेक्ट सडक खण्डबाट ३ नै जना चोरलाई सुन चाँदीका गहना सहित पक्राउ गरेको जानकारी गराएको छ । ३ नै जना चोर सुन चाँदीका गहना सहित भारत तर्फ हिडेको प्रहरीले दाबी गरेको छ ।
चोरले जेठ ३ गते विराटनगर–३ पिपल चौक स्थित जयकिशोर चौधरीको घरबाट मोटो रकम परिणाममा सुन चाँदीका गर गहना चोरी गर्न सफल भएका थिए । मोरङ प्रहरीले अधिकृत सहित ७ जना प्रहरी परिचालन गरेर १ साता भित्र चोरी भएको सुन चाँदीको गहना सहित चोरलाई पक्राउ गरेर सार्वजनिक गर्न सफलता प्राप्त गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी पोखरेलले सुन चाँदी चोरी प्रकरणमा चोरलाई पक्राउ गर्न सफल भएका अधिकृत सहित ७ जना प्रहरीलाई पुरस्कृत गरिएको बताए ।
मोरङ प्रहरीले बिहीबार नै ३ नै जना चोरलाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरेको छ । र चोरीको विषयमा थप अनुसन्धान जारी रहेको एसपी पोखरेलले बताए । एसपी पोखरेलले आफ्नो घरको सुरक्षा आफै गर्न घर धनिलाई आ–आफ्ना घरमा सीसि टिभी क्यामरा जडान गर्न सुझाव दिएका छन् ।