राठी म्यानिफ्याक्चरिङमा आगलागी, २० करोडको क्षती

  • ब्रह्मदेव यादव, विराटनगर ६५२  पटक हेरिएको

शुक्रबार, बैशाख २९, २०८० समय : १६:३१:०६ , २ वर्ष अगाडि

राजेन्द्र राठी संचालक रहेको राठी म्यानिफ्याक्चरिङमा भिषण आगलागी भएको छ । राठी म्यानिफ्याक्चरिङ विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग हो । आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएका छन् । उद्योगमा २० करोडभन्दा बढि रुपैयाँ बराबरको सामान र संरचना जलेर नष्ट भएको संचालक राजेन्द्र राठीले बताए । उद्योगले विभिन्न प्रकारको विद्युतीय बल र स्विच उत्पादन गर्ने गरेका छन् ।

मोरङ जिल्लाको बुढिगंगा गाउँपालिकाको वडा नं. ५ स्थित हात्तीमुडा खण्डमा संचालित राठीको विद्युतीय उद्योगमा शुक्रबार बिहान २ बजेदेखि विद्युत सर्किटबाट आगलागी सुरु भएको थियो । मोरङ र सुनसरीको विभिन्न स्थानीयपालिकाका १ दर्जन भन्दा बढि दमकलले राठीको विद्युत उद्योगमा लागेको आगोलाई नियन्त्रणमा लिएको हो । १ दर्जनभन्दा बढि दमकललाई उद्योगमा लागेको आगोलाई नियन्त्रणमा लिन १० घण्टाभन्दा बढि समय लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दिपक पोखरेलले बताए ।

तीन महिना अघि मात्रै राठीले बुढिगंगामा नयाँ उद्योग स्थापना गरेर संचालनमा ल्याएका थिए । यस अघि राठीले विराटनगर–७ स्थित हाटखोलामा उद्योग संचालन गरिरहेका थिए । र त्यही नयाँ उद्योगमा आगलागी भएको हो । उद्योग परिसरमा बेग्ला बेग्लै तिन उद्योग प्लान्ट संचालन भईरहेका थिए ।

जसमध्ये बिच भागमा संचालित राठीको विद्युत उद्योगमा आगलागी भएको हो । दुरी कायम गरेर तीन बेग्ला बेग्लै उद्योग स्थापना गरिएकोले बाँकी २ उद्योग आगलागी हुनबाट जोगिएको छ । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका पदाधिकारीहरु राठीको आगलागी भएको उद्योगमै पुगेर उद्योगमा भएको क्षतिको विवरण लिएका थिए ।