६० बर्षसम्म विद्यालयको जग्गा दाताकै नाममा

  • ब्रह्मदेव यादव, विराटनगर ६१२  पटक हेरिएको

आइतबार, बैशाख १७, २०८० समय : १५:११:२७ , २ वर्ष अगाडि

विराटनगर महानगरपालिका भित्र एक जना दाताले ६० बर्षअघि दान गरेको जग्गा अझैसम्म जग्गा दाताकै नाममा रहेको छ । प्रतिष्ठिन एवं सामाजिक व्यक्तित्व स्व. नारायण प्रसाद कोइरालाले २०२० सालमा विराटनगर–१० मा श्री नारायण आधारभूत विद्यालयलाई दान गरेको ४ कठ्ठा जग्गा अझैसम्म दाताकै नाममा रहेको छ । समाजसेवी नारायणप्रसाद कोइरालाको निधन भईसकेको छ ।

स्व. नारायण प्रसाद कोइरालाको नाममा रहेको जग्गा उनका छोराहरुको नाममा नाम सारी भईसकेको छ । विराटनगर–१० मा स्व. नारायणप्रसाद कोइरालाकै नाममा रहेको श्री नारायण आधारभूत विद्यालयको नाममा जग्गा नामसारी हुन सकेको छैन ।

विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष तथा श्री नारायण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन गिरीले विद्यालयको नाममा जग्गा नामसारी गराउँन जग्गा दातासँग कुराकानी भईरहेको बताए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्व. हजुरबुवाले दान गरेको जग्गा श्री नारायण आधारभूत विद्यालयलाई नामसारी गराउँन उनको परिवारसँग छलफल भईरहेको बताए ।