- चिरफार डटकम, विराटनगर ४६२ पटक हेरिएको
आइतबार, चैत्र १९, २०७९ समय : १४:३७:१२ , २ वर्ष अगाडि
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले कोशी प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन जारी रहने प्रतिकृया दिएको छ । आइतबार विराटनगर विमानस्थलमा संचारकर्मी सँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता तथा मन्त्री राईले कोशी प्रदेश सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने बताएका छन् ।
नेकपा एमाले कोशी प्रदेश संसदिय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेश सरकारका मुख्यमन्त्री रहेका छन् । र मुख्यमन्त्री कार्की नेतृत्वकै सरकारमा जसपा नेपालका निर्मला तावा लिम्बु स्वास्थ्य मन्त्री रहेका छन् । केन्द्रिय सरकारमा जसपा नेपाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित सत्ता गठबन्ध सँग आबद्ध छ ।
कोशी प्रदेश सरकारमा जसपा नेपालले एमालेलाई समर्थन दिएको छ । केन्द्रिय र प्रदेश सरकारमा फरक फरक दलसँग किन गठबन्धन गरेको भनी सोधिएको प्रश्नको जवाफमा राईले भने प्रदेश सरकार केन्द्रिय सरकार मातहतको निकाय होइन । केन्द्र र प्रदेश सरकारको बेग्ला बेग्लै महत्व छ । केन्द्र र प्रदेश अधिकार सम्पन्न संबैधानिक संस्था हो ।
केन्द्रमा एउटा दलसँग मिलेर सरकार गठन गरिएको छ भने प्रदेमा अर्को दलसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दल सँग सुरक्षित छ । दलले पाएको संवैधानिक अधिकारको प्रयोग गरेर कोशी प्रदेशमा सरकार गठन गरेको छ । केन्द्रले प्रदेश सरकारमाथि हस्तक्षेप गर्न मिल्दैन । ९३ सदस्य कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको आवश्यकता पर्छ ।
जसमध्ये एतिखेर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग ५९ सांसदको समर्थन छ । एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपा नेपालका १ गरी ५९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । नेपाली कांग्रेससँग २९ र नेकपा एकिकृत समाजवादीसँग ४ गरेर ३३ सांसद विपक्षमा छन् ।
माओवादी र राप्रपा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारबाट नहटेसम्म सत्तागठबन्धनको कोशी प्रदेशमा सरकार बन्ने सम्भावना छैन । यी सबै जटिल अवस्थालाई बुझेर जसपा नेपालका बरिष्ठ नेता तथा मन्त्री राईले कोशी प्रदेश सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने अभिव्यक्ति दिएका छन् ।