- चिरफार डटकम, विराटनगर ७१० पटक हेरिएको
शुक्रबार, चैत्र १७, २०७९ समय : १८:०७:३२ , २ वर्ष अगाडि
शनिबार विराटनगरमा अहिंसा दौड प्रतियोगिता हुँदै छ । विराटनगरमा वसोबास गरिरहेका मारवाडी समूदाय भित्र जैन समाजको अन्तर्राष्ट्रिय संगठन जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन (जितो) ले अहिंसा दौड प्रतियोगिताको आयोजना गरेको छ ।
५०० को हाराहारीमा सबै उमेर समूहका पुरुष महिला दौड प्रतियोगितामा सहभागिता जनाउने छ । प्रतियोगिता सम्पन्न गर्न ७ लाख भन्दा बढि रकम खर्च हुने आयोजकले जानकारी गराएको छ । जितो महिला विंग विराटनगर शाखाका अध्यक्ष सन्तोष जैन सहितका पदाधिकारीहरुले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर ३, ५, १० किलो मिटर दुरीको दौड प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
१० किलो मिटर दुरीको दौड प्रतियोगिताका विजेता पुरुष र महिलालाई २१÷२१ हजार र ५ किलो मिटर दुरीको दौड प्रतियोगिताको विजेता पुरुष र महिलालाई ११/११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए । ३ किलो मिटर दुरीको दौड प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष जैनले बताए ।
शनिबार बिहान ५ः३० बजे दौड प्रतियोगिताको शुभारम्भ हुनेछ । विराटनगर स्थित जैन भवनबाट सुरु हुने दौड प्रतियोगिताको पुनः जैन भवनमा आएर समापन हुनेछ । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले दौड प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दौड प्रतियोगिताको समापन समारोहमा सहभागिता जनाउँदै विजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।