विराटनगर महानगरपालिकाको नो पार्किङ विरुद्ध व्यवसायी सडक संघर्षमा

  • चिरफार डटकम, विराटनगर ४४२  पटक हेरिएको

शुक्रबार, चैत्र १७, २०७९ समय : १३:३५:४० , २ वर्ष अगाडि

विराटनगर महानगरपालिकाले लागु गरेको नो पार्किङ विरुद्ध व्यवसायी सडक संघर्षमा उत्रिएका छन् । तर व्यवसायीको सडक संघर्षबाट डराएर विराटनगर महानगरपालिका पछाडी नफर्किने मेयर नागेश कोइरालाले स्पष्ट पारेको छ ।

व्यवसायीले शुक्रबारदेखि विराटनगर महानगरपालिका क्षेत्रको सडकमा एक साईड सवारी साधनको पार्किङ गरेको छ । र यसलाई अभियानकै रुपमा अगाडी बढाउने व्यवसायीहरुले घोषणा गरेका छन् । यस अघि विराटनगर महानगरपालिकाले महानगरको सडक क्षेत्रलाई नो पार्किङ क्षेत्र घोषणा गरेको थियो । नो पार्किङको कारण व्यवसायी चौपट भएको निश्कर्ष निकाल्दै शुक्रबारदेखि पुनः सडक पेटिमा एक साईड सवारी साधनको पार्किङ गरेका छन् ।

व्यवासयीले सडकको एक साईडमा पार्किङ गरेर राखेको सवारी साधनमा विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले केही सवारी साधनमा लक लगाएको छ । महानगरपालिकाले नगर क्षेत्रको १५ भन्दा बढि सडक खण्डलाई नो पार्किङ क्षेत्र घोषणा गर्दै नगर क्षेत्रकै केही व्यक्तिगत जग्गामा पार्किङको व्यवस्था गरेको थियो ।

व्यवसायीहरुले शुक्रबार महानगरपालिकाले नो पार्किङ घोषणा गरेको महानगरको सबै सडक खण्डको एक साईडमा सवारी साधन पार्किङ गरेका छन् । व्यवसायीले सामान किन्न आउने सर्वसाधारणको सवारी साधनलाई समेत नो पार्किङ क्षेत्रमा पार्किङ गर्न लगाइएको छ ।

महानगरको सबै नो पार्किङ सडकमा हजार भन्दा बढि सवारी साधन पार्किङ गरेर राखेपछि विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सबै सवारी साधनमा लक लगाउन नसकेर पछाडी फर्केको छ । विराटनगर महानगरपालिका र व्यवसायी बिच नो पार्किङको विषयमा उत्पन्न भएको विवाद चरम उत्कर्षमा पुगेको छ । र महानगरपालिका र व्यवसायी आमने सामने उत्रिएको छ ।

यस विषयमा विराटनगर महानगरपालिकाले अगाडी सारेको नो पार्किङ अभियानबाट पछाडी नफर्किने स्पष्ट पारेको छ । मेयर नागेश कोइरालाले विराटनगरलाई सफा र सौन्दर्य सहर निर्माणका लागि थालिएको नो पार्किङ अभियान विराटनगरवासीकै हितमा रहेकोले व्यवसायीको संघर्षको कारण पछाडी फर्किन सक्ने अवस्था नरहेको बताए ।