- ब्रह्मदेव यादव, विराटनगर ९०३ पटक हेरिएको
बुधबार, चैत्र ०८, २०७९ समय : १७:५४:४८ , २ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयले भन्सार एजेन्ट देवकीनन्दन शर्मालाई निलम्बन गर्ने प्रक्रिया अगाडी बढाएको छ । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष समेत रहेका भन्सार एजेन्ट शर्माले भन्सार अधिकृत अंकित शर्माको पर्सनल आईडी दुरुपयोग गरेर सामान छुटाएको आरोप लागेको छ ।
भन्सार अधिकृत शर्मा चैत्र ५ गते आफ्नो कार्यकक्षबाट सामान चेक जाँच गर्न भन्सार कार्यालयको गोदाममा पुगेको बेला मौका छोपेर भन्सार एजेन्ट शर्माले भन्सार अधिकृत अंकित शर्माको पर्सनल आईडी प्रयोग गरेर सामान छुटाउन सफल भएका थिए । प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल काठमाडौंमा भएको बेला घटेको घट्नाको बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेर दोसीलाई कारवाही गर्न भन्सार प्रशासनले अनुसन्धान थालेको थियो ।
भन्सार कार्यालयमा जडान गरिएको सीसी टिभी फुटेजको आधारमा भन्सार प्रशासनले अनुसन्धान गर्दा भन्सार एजेन्ट नं. ३८७ का शर्माले अधिकृत अंकित शर्माको पर्सनल आईडी दुरुपयोग गरेको निष्कर्श निकालेको छ । भन्सार अधिकृत अंकित शर्माले आफ्नो पर्सनल आईडी मिलोमत्तोमा भन्सार अधिकृत शर्मालाई दिइएको होकी भन्सार एजेन्ट शर्माले अधिकृत अंकित शर्माको पर्सनल आईडी चोरी गरेर सामान छुटाएको विषयमा भन्सार प्रशासनले अनुसन्धान जारी राखेको भन्सार कार्यालय निकट समाचार स्रोतले जानकारी गराएको छ ।
यस विषयमा भन्सार एजेन्ट शर्मालाई कति समय निलम्वित गर्ने विषयमा भन्सार प्रशासनले छलफल जारी राखेको छ । २०६२/०६३ को मधेश आन्दोलनको दौरान डेढ महिना भन्दा बढि समय मधेशका जिल्ला पूर्ण रुपमा बन्द रहर्दा प्रहरी प्रशासनको सहयोगमा विराटनगर भन्सार कार्यालयबाट सामान गन्तव्यसम्म पुग्ने गरेको थियो ।
सोही समयमा भन्सार एजेन्ट शर्माले सामानको भन्सार राजश्वनै नतिरीकन मोटो रकम बराबरको १ ट्रक सामान विराटनगर भित्र्याउन सफल भएको थियो । र गाडी सहितको सामान विराटनगरबाट पक्राउ परेपछि भन्सार प्रशासनले शर्मालाई ६ महिनासम्म विराटनगर भन्सार कार्यालयमा काम गर्न नदिने गरी निलम्बन गरेको थियो । र यति खेर भन्सार अधिकृत अंकित शर्माको पर्सनल आईडी दुरुपयोग गरिएको विषयमा कति समय निलम्बन गर्ने निर्णय गरिसकेको छैन । तर भन्सार एजेन्टहरुले भन्सार एजेन्ट देवकी नन्दन शर्मालाईलाई सधैको लागि विराटनगर भन्सार कार्यालयमा काम गर्न नदिने गरी निलम्बन गर्नु पर्ने आवाज उठाउन थालेको छ ।