कोसी प्रदेश विरुद्ध विराटनगरमा प्रदर्शन

  • ब्रह्मदेव यादव, विराटनगर ४१९  पटक हेरिएको

आइतबार, चैत्र ०५, २०७९ समय : १७:०४:१८ , २ वर्ष अगाडि

मेटिएको पहिचान खोज्न विराटनगर आइपुगेका आन्दोलनकारी घटक र सरकारी पक्षबिच आइतबार झडप भएको छ । आन्दोलनकारी पक्षले सरकारी पक्षबाट आफ्नो माँगलाई दबाउने गरी लाठ्ठी चार्ज, असुर ग्यास प्रहार र हवाई फायर गरेको आरोप लगाएको छ । भन्ने सरकारी पक्षले निषेधाज्ञा क्षेत्र तोड्न खोजेकोले आन्दोलनकारी माथि सामान्य बल प्रयोग गरिएको प्रतिक्रिया दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दिपक पोखरेलले निषेधाज्ञा क्षेत्र तोड्न खोज्ने क्रममा सुरक्षाकर्मीले आन्दोलनकारी माथि सामान्य बल प्रयोग गरेको बताए । कोसी प्रदेश खारेजिको माँग गर्दै पहिचानको आधारमा पुनः कोसी प्रदेशको नामाकरण हुनुपर्ने अभियानमा जुटेको आदिवासी, जनजाति, लिम्बुवान सहित पहिचान पक्षधरमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

जसको कारण आइतबार विराटनगरको अवस्था तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले एकैपटक विराटनगरको पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सुरक्षा व्यवस्था तैनाथ गरेको थियो । मोरङ प्रशासनले मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको विराटनगरको रोडषेश चोक दक्षिण तर्फ मुख्यमन्त्रीको कार्यालय रहेको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र घोषणा गरेको थियो । निषेधाज्ञा क्षेत्रमा तारजारी लगाएर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भएपनि हजारौंको संख्यामा रहेका आन्दोलनकारी घटकले निषेधाज्ञा क्षेत्र भत्काउने क्रममा दुवै पक्षबिच लाठ्ठी चार्ज सँगै झडप भएको थियो ।

आन्दोलनकारीले कोसी प्रदेश घोषणा गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला जलाएका थिए । आन्दोलनकारी पक्षले विराटनगरको पाञ्चाली मोडदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसम्मको सडक खण्डलाई नियन्त्रणमा लिएर शक्ति प्रदर्शन सहित विरोध सभा गरेको छ । जहाँ कोसी प्रदेशको १४ जिल्लाबाट विराटनगर आइपुगेको पहिचान पक्षधर आन्दोलनकारीहरुले शक्ति प्रदर्शन गर्दै सरकारलाई कोसी प्रदेश खारेजी गरेर पहिचानको आधारमा प्रदेशको नाम नामाकरण गर्न दवाव सृर्जना गरेको छ ।

लिम्बुवान पक्षधर नेता कुमार लिङ्देनसहित दर्जनौं पहिचान पक्षधर आन्दोलनकारी घटकका नेताहरुले विरोध सभामा आफ्ना धारणा व्यक्त गरेका थिए । फागुन १७ गते प्रदेश सभाको बैठकले १ नं. प्रदेशलाई कोसी प्रदेश नामाकरण गरेको छ । ९२ जना प्रदेश सभा सदस्यमध्ये ८२ जनाले कोसी प्रदेशको पक्षमा मतदान गरेको छ । ४ जनाले कोसी प्रदेशको विरुद्धमा मतदान गरेको छ । बाँकी प्रदेश सभाका सदस्यहरु प्रदेश सभाको बैठकमा सहभागि भएनन् ।